डोटीमा सबैभन्दा धेरै मत बदर, सबैभन्दा कम मनाङमा

 

फाइल तस्वीर

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनमा डोटीमा सबैभन्दा धेरै ९ प्रतिशत मत बदर भएको छ  । हिमाली जिल्ला मनाङमा सबैभन्दा कम अर्थात् शून्य दशमलव ३९ प्रतिशत मत बदर भएको छ  ।

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार प्रत्यक्षतर्फ ७.८२ प्रतिशत मत बदर भएको डोटीमा समानुपातिकतर्फ नौ प्रतिशत बदर भएको हो । मनाङमा प्रत्यक्षतर्फ ०.३९ र समानुपातिकतर्फ ०.९५ प्रतिशत बदर भएको छ ।

प्रतिनिधि सभामा प्रत्यक्षतर्फ देशभर भने ५.०६ र समानुपातिकतर्फ ५.०९ प्रतिशत मत बदर भएको छ ।

प्रत्यक्षतर्फ कुल मतदाताको ६१.४१ प्रतिशत अर्थात् १ करोड १० लाख ४७ हजार ३४ मत खसेको थियो। जसमा ५ लाख ५९ हजार ७६ मत बदर भएको हो। समानुपातिकतर्फ कुल मतदाताको ६१.८५ प्रतिशत अर्थात् १ करोड ११ लाख २६ हजार २२६ मत खसेको थियो । जसमा ५ लाख ६६ हजार १४४ बदर भएको हो।

बदर मतलाई १ प्रतिशतमा झार्ने लक्ष्यसहित निर्वाचन आयोगले यसपालि निर्वाचनमा मतदाता शिक्षामा ५० करोड खर्च गरेको थियो। तर, बदर दर भने ०७४ कै हाराहारीमा छ। ०७४ को प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ ५.१८ प्रतिशत मत बदर भएको थियो।