राहदानी वितरणमा भएको समस्या दुई दिनभित्रमा समाधान हुने

काठमाडौं । राहदानी छपाइमा देखिएको समस्या समाधानतर्फ गएको राहदानी विभागले जनाएको छ ।

विभागका प्रवक्ता दुरपदा सापकोटाले पुस १७ गतेदेखि आएको प्राविधिक समस्या समाधानको दिशामा गइसकेको बताएकी छिन् ।

प्राविधिक कारण राहदानी छपाइमा देखिएको समस्या बिहीबार आंशिक समाधान भएको उहाँको भनाइ छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा बुधबार प्रधानमन्त्री कार्यालको प्राविधिक टोलीले त्यहाँको समस्याबारे जानकारी लिएको थियो ।

यसलगत्तै सफ्टवेयर कम्पनीका प्राविधिकसँगसमेत प्रधानमन्त्री कार्यालयको प्राविधिक टोलीले बिहीबार भिडियो कलमार्फत् कुराकानी गरेका छन् ।

प्रधानमन्त्रीले चासो दिएको बताएपछि कम्पनीले भारत र मलेसियाबाट प्राविधिकलाई नेपाल पठाइसकेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिएका छन् ।

राहदानी विभागका प्रवक्ता सापकोटाले बाहिर मिडियामा आएजस्तो राहदानी वितरण नै रोकिएको भने नरहेको बताएका छन् ।

उनले भने, ‘केही मिडियामा राहदानी वितरण नै रोकियो भन्ने खालका समाचार आएका छन् । तर हामीले दिने सेवा भने कुनै दिन रोकेका छैनौँ ।

पहिले बनिसकेका राहदानी भने वितरण गरिरहेकै छौँ । १७ गतेपछि दैनिक पाँच छ सयको हाराहारीमा मात्र राहदानी छापिएको छ ।’

फारम स्वीकृत गरेर सेवाग्राहीको मोबाइलमा सूचना जाने सिस्टमले काम गर्न छाडेकाले मात्र समस्या आएको उनको भनाइ छ ।

अन्य कारणले राहदानी छपाइमा भने समस्या नरहेको उनले बताए । ‘केही दिन पहिले देखिएको समस्या राहदानी छपाइमा भएको होइन ।

राहदानीका लागि लिइएका फारम स्वीकृत गर्ने सिस्टममा समस्या देखिको थियो । तर, बाहिर छपाइमै समस्या देखियो भन्ने प्रचार गएको छ,’ प्रवक्ता सापकोटाले भने ।

राहदानीका लागि फारम लिने, दस्तुर बुझाउने र फोटो खिच्ने काम भने कुनै दिन नरोकिएको प्रवक्ता सापकोटाको भनाइ छ ।

अब राहदानीको फारम स्वीकृत गर्ने प्रविधिमा देखिएको समस्या पूर्णरुपमा समाधान भएपछि कर्मचारीलाई बिहान र साँझ ढिलासम्म राखेर भए पनि सबै राहदानी छापिने सापकोटाले बताए ।

उनले भने, ‘अबको एक दुई दिनमा राहदानीको फारम स्वीकृत गर्ने प्रविधिमा देखिएको समस्या पूर्णरुपमा समाधान हुन्छ ।

त्यसपछि कर्मचारीलाई बिहान र बेलुुका राखेर भए पनि राहदानी पूर्ण क्षमतामा छाप्छौँ ।