सशस्त्र प्रहरीका पूर्वआईजीपी र एआईजीहरुको पुनर्मिलन

काठमाडौं । सशस्त्र प्रहरीले हलचोकस्थित मुख्यालयमा संगठनका पूर्वआईजीपी र एआईजीहरुको पुनर्मिलन कार्यक्रमको आयोजना गरेको छ।

मंगलबार आयोजित पुनर्मिलन कार्यक्रममा ७ जना पूर्वआईजीपी र १४ जना सशस्त्र प्रहरीबाट अवकाश पाएका एआईजीहरु सहभागी थिए ।

९ माघमा सशस्त्र प्रहरीले स्थापना दिवस मनाउँदै छ। २२ औं ‘एपिएफ डे’ सप्ताहव्यापी मनाउने निर्णय गरेको सशस्त्रले पहिलो दिन पूर्वआईजीपी र एआईजीहरुसँग अन्तरक्रिया गरेको हो।

विशिष्ट श्रेणीबाट अवकाश पाएका अधिकारीलाई संगठनको अवस्थाबारे जानकारी गराउँदै सशस्त्र प्रहरी प्रमुख राजु अर्यालले संगठन सुधार्ने सुझाव मागेका छन्।

अग्रजहरुको सल्लाह, सुझाव र मार्गदर्शनको आवश्यकता संगठनलाई सधैं हुने उल्लेख गर्दै आईजीपी अर्यालले भने,‘संस्थागत र संरचनागत सुधारका प्रयास थालिएको छ, यसमा अवकाशप्राप्त विशिष्ट अधिकृतहरूको सुझावको अपेक्षा गरेका छौं ।

पुनर्मिलन कार्यक्रममा सुझाव दिँदै पूर्वआईजीपी पुष्पराम केसीले सिमा सुरक्षालाई बलियो बनाउन अहिले भएको दरबन्दीबाटै ७० वटा बोर्डर आउटपोष्ट बनाउन सकिने सुझाव दिए ।

बिओपी थप्ने प्रस्ताव गृहमा पेश भएको जानकारी गराउँदै केसीले भनेका छन्,अनावश्यक ठाउँबाट दरबन्दी झिकेर ७० वटा बिओपी बनाउन सकिन्छ।

पूर्वआईजीपी केसीले क्षेत्रीय अस्पताल विस्तार गर्नुपर्ने बताए।

पूर्वआईजीपी सनत कुमार बस्नेतले अवकाश पछि पनि संगठन प्रतिको उत्तरदायित्व रहने उल्लेख गर्दै क्षमता र अनुभवलाई आवश्यक परेको जुनसुकै वेला संगठनको हितमा लगाउन सकिने बताए ।

पूर्व आईजीपी शैलेन्द्र कुमार श्रेष्ठले अवकाश प्राप्त कर्मचारीलाई रिजर्भ फोर्सको रूपमा लिनुपर्ने बताए।

अर्का पूर्व सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संगठनलाई थप उचाइमा पु¥याउन बहालवाला र अवकाश प्राप्त सवै कर्मचारीको एक ढिक्का भएर अघि बढ्नुपर्ने बताए ।

अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रविराज थापाले प्रविधिसँगै संगठनको विकास पनि हुँदै जाने उल्लेख गर्दै कामकारबाहीमा प्रविधिको व्यापक प्रयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले पुनर्मिलनलाई निरन्तरता दिँदै अग्रजहरुका सुझावलाई अभिलेखीकरण गरेर कार्यान्वयन लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्।