इन्जिनियर घुससहित अख्तियारको नियन्त्रणमा

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको शम्भुनाथ नगरपालिकाका इन्जिनियर रामचन्द्र साहलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ।

इटहरीबाट खटिएको अख्तियारको टोलीले मंगदबार दिउँसो २ बजेतिर नगरपालिकाको कार्यालयमा छापा मारेर उनलाई नियन्त्रणमा लिएको हो।

करारमा नियुक्त भएका इन्जिनियर साहले निर्माण कार्यको भुक्तानीबापत सेवाग्राहीसँग एक लाख ४० हजार घुस मागेको गोप्य सूचना तथा लिखित निवेदनका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो।

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाका अनुसार उनको साथबाट नगद एकलाख ४० हजार रुपैयाँ पनि बरामद गरिएको छ ।