कर्णालीमा ४३ करोडमा ६६ भवन र सडक निर्माण

काठमाडौं। सघन सहरी विकास तथा भवन निर्माण आयोजना जुम्लाले साविक कर्णालीका पाँच जिल्लामा संघियतापछि पूर्वाधार विकास निर्माणलाई गति दिँदै आएको छ ।

सरकारी भवन निर्माण, नयाँ सडक निर्माण तथा स्तरवृद्धिलगायत पूर्वाधार विकासका कामलाई गति दिँदै आएको हो । आयोजनाले विशेषगरी सरकारी कार्यालय भवन निर्माणलाई जोड दिएको छ।

जसअन्तर्गत गत आव २०७८/०७९ मा सघन सहरी विकास तथा भवन निर्माण आयोजनाले साविक कर्णालीका पाँच जिल्लामा ४३ करोड लगानीमा सरकारी कार्यालय भवन, सडक, स्वास्थ्य संस्थाका भवनलगायत ६६ वटा योजना निर्माण गरेको छ।

सरकारी कार्यालय भवन तथा सडक पूर्वाधार निर्माण भएका छन्। विभिन्न चार वटा पूर्वाधार निर्माण कार्यक्रमका शीर्षकअन्तर्गत ४३ करोड बजेट लगानीका ६६ योजनाहरू निर्माण भएका हुन्।

जसमा ‘भवन निर्माण संघीयता सरकारी भवन निर्माण’ अन्तर्गत आठ करोड १७ लाख ५० हजार लागतमा २३ वटा सरकारी भवन निर्माण भएका छन् । जसमा ६ वटा कार्यालय सम्पन्न भएको र अन्य निर्माणाधीन अवस्थामा छन्।

‘एकीकृत स्वास्थ्य पूर्वाधार कार्यक्रम’ अन्तर्गत सात करोड ३० लाख ६० हजार लागतमा १३ वटा स्वास्थ्य संस्थाका भवन निर्माण हुँदा गत आवमा पाँचवटा स्वास्थ्यका भवन निर्माण भएका छन् भने, ‘एकिकृत बस्ती विकास कार्यक्रम’ अन्तर्गत ६ करोड ७८ लाख ४० हजार लगानीमा ११ वटा योजना निर्माण सम्पन्न भएको सघन सहरी विकास भवन निर्माण आयोजनाका सबइन्जिनियर चन्द्रबहादुर खड्काले बताए।

उनका अनुसार ‘सघन सहरी विकास कार्यक्रम’ अन्तर्गत सडक निर्माण तथा स्तरवृद्धिका १९ वटा योजना निर्माण सम्पन्न भएका छन् । २१ करोड लगानीमा सडक पूर्वाधारका १९ वटा योजना निर्माण सम्पन्न भएको सबइन्जिनियर खड्काले उल्लेख गरे।

उनले भने, “गत आवमा लक्षित उद्देश्यअनुसार पूर्वाधार विकासको काम सम्पन्न भएको छ । भवन निर्माण संघीयता सरकारी भवन निर्माण’ कार्यक्रमका २३ मध्ये १७ योजना र एकीकृत स्वास्थ्य पूर्वाधार कार्यक्रमका १३ मध्ये ८ वटा योजना निर्माणाधीन अवस्थामा छन्।

साथै हुम्लामा हिमाली सहर आयोजना निर्माण कार्यक्रमका लागि दुई करोड १० लाख बजेट आएकोमा १९ लाख बढी बजेटमात्रै खर्च भएको आयोजनाले जनाएको छ।

यद्यपी, कोरोना महामारी, भौगोलिक विकटता, कर्मचारीको अभाव र मौसम प्रतिकूलतालगायतका कारणले अपेक्षित काम गर्न नसकिएको सघन सहरी विकास तथा भवन निर्माण आयोजना जुम्लाका प्रमुख प्रदिपकुमार सिंहले बताए।

उनले भने, गत आवका क्रमागत योजना पनि अघि बढिरहेका छन् भने चालू आवमा पनि हुम्ला, जुम्लामा सुविधायुक्त रंगशाला निर्माण हुनेछ । साविक कर्णालीमा सरकारी भवन निर्माणले भने दैनिक सेवा प्रवाह र कार्य सम्पादनमा सहज भएको छ।

साथै सघन सहरी विकास तथा भवन निर्माण आयोजनाले साविक कर्णालीका पाँच जिल्लासहित दैलेख, सल्यान र रुकुम पश्चिमका जिल्ला अस्पतालको भवन निर्माणलगायतका पूर्वाधार विकासको काम गर्दै आएको छ।