रविको नागरिकता मुद्दामा एनआरएनएको चासो

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा भइरहेको सुनुवाइमा गैरआवासीय नेपालीहरुको पनि चासो जोडिएको पाइएको छ।

अमेरिकी ग्रिनकार्ड त्यागेका लामिछानेले नागरिकता पुनःप्राप्तिको प्रक्रिया नै पूरा नगरेको भन्दै मुद्दा गरेको छ। यो मुद्दामा संवैधानिक इजलासमा बुधबार अन्तिम सुनुवाइ सुरु भएको थियो, जसमा शुक्रबार नै फैसला आउने सम्भावना छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)का प्रवक्ता सोम सापकोटाका अनुसार यो मुद्दामा हुने फैसलाले गैरआवासीय नेपालीहरु पनि प्रभावित हुनसक्छन्।

‘हामीले नेपाली नागरिकताको निरन्तरताको मुद्दा उठाउँदै आएका छौं। त्यसैले यो मुद्दामा हाम्रो संस्थागत चासो रहेको छ।एनआरएनएले स्थापनाकालदेखि नै नेपाली नागरिकताको निरन्तरताको माग गर्दै आएको छ।

अनौपचारिक तथ्यांकहरुका अनुसार अमेरिका, अष्ट्रेलिया र युरोपका देशहरुको नागरिकता ९ग्रिन कार्ड० लिएका छन् । उनीहरुले नेपाली नागरिकता पनि साथमै राखेका छन् ।

नागरिकता ऐन २०६३ अनुसार आफुखुशी अर्को मुलुकको नागरिकता लिनासाथ नेपालको नागरिकता स्वतः खारेज हुनेछ । तर अर्को मुलुकको नागरिकता लिएको जानकारी न सरकारले खोजेको छ, न उनीहरुले नै दिएका छन् । बरु नेपाली नागरिकतालाई प्रयोग गरेर घर, जग्गालगायतका सम्पत्ति जोड्ने गरेका छन्।

रवि स्वयंले पनि २०७० सालमा अमेरिकी नागरिकता पाएका थिए, तर नेपाली नागरिकता पनि साथमै राखे । अमेरिकी पासपोर्टमा नेपाल आएका उनले पुरानो नेपाली नागरिकता प्रयोग गरेर १३ जेठ २०७२ मा नेपाली पासपोर्ट बनाए।

प्रश्न उठेपछि ४ जेठ २०७५ मा बल्ल उनले अमेरिकी नागरिकता र पासपोर्ट त्याग गर्न काठमाडौंस्थित अमेरिकी दूताबासमा निवेदन दिएका थिए।

त्यसपछि पनि उनले नेपाली नागरिकता पुनःप्राप्तिका लागि औपचारिक प्रक्रिया सुरु गरेनन्। बरु पुरानै नागरिकता अनुसार आफ्नै नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरे, ४ मंसिरको निर्वाचनमा चितवन २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भए ।