महिला अधिकारका लागि जागरण जरूरीः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको सरकारले एकल महिलाका माग र मुद्दा सम्बोधन गर्ने बताउँदै त्यसका लागि सामाजिक चेतना र जागरण जरूरी भएको बताएका छन्।

मानव अधिकारका लागि महिला समूहद्वारा आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्रीले भने, “तपाईंहरूको यो कार्यक्रम अन्य कार्यक्रमभन्दा पृथक र मौलिक लाग्यो।

यहाँ तपाईंहरूले एकल महिलाका हकअधिकारका पक्षमा जे–जति मुद्दा उठाउनुभएको छ त्यसलाई सम्बोधन गर्ने मेरो प्रयास हुनेछ।

प्रधानमन्त्रीले संविधानमा एकल महिलाका लागि कोटा छुट्टाउनुपर्ने माग न्यायोचित भएको पनि बताए। यो न्यायोचित माग हो ।

यसमा हामी छलफल गर्नेछौं । एकल महिलाको सामाजिक सुरक्षाबारे तपाईहरूले जे–जति प्रश्न उठाउनुभएको छ, ती गम्भीर प्रकृतिका छन्।

तिनीहरू सम्बोधन गरिनेछ,” उनले भने । २७ वर्षको अवधिमा एकल महिला समूहले प्राप्त गरेको उपलब्धि र ख्यातिको प्रधानमन्त्रीले प्रशंसा गरे।

प्रधानमन्त्री दाहालले भने,यस अवधिमा तपाईंहरूले प्राप्त गरेको उपलब्धि, एकल महिलाको एकता र सहकार्यका निम्ति गरेको प्रयास र अन्तर्राष्ट्रियस्तरबाट प्राप्त गरेको ख्याति र सम्मानको म उच्च प्रशंसा गर्दछु।

महिला अधिकारका लागि नेपालमा ठूलो बलिदानी भएको उल्लेख गर्दै प्रधानमन्त्रीले हजारौं महिलाले मुक्ति र परिवर्तनका निम्ति संघर्ष गरेको स्मरण उनले गरे ।

प्रधानमन्त्रीले भने, “गरिब, पिछडिएका महिलाले आफ्नो पहिचान, अधिकार र मुक्तिका निम्ति गरेको संषर्षकै कारण समाज र राजनीति यहाँसम्म आएको छ ।

उहाँहरुले संघर्ष र बलिदानीको उच्च कीर्तिमानी नराखेको रगत नबगाएको भए हामी यहाँसम्म आउने थिएनौं।

महिलाको सहभागिता र भूमिकाबिना संसारमा कहीँ पनि परिवर्तन नभएको भन्दै उनले महिलाको संघर्षका कारण आज राज्यका सबै अंगमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको बताए ।

स्थानीय तहदेखि केन्द्रसम्म प्रतिनिधित्व भए पनि यो अझै पर्याप्त छैन । पुरूष सरह महिलाका हकअधिकार स्थापित गर्न थप प्रयत्न आवश्यक छ, उनले भने।