साफ यू–२० महिला च्याम्पियनसिप: फाइनल खेलमा आज नेपाल र बंगलादेश भिड्दै

काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिपको उपाधिका लागि नेपालले आज घरेलु टोली बंगलादेशसँग भिड्ने भएको छ।

बिहीबार ढाकास्थित बीएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार साँझ पौने ६ बजे खेल हुनेछ।

यो खेलमा नेपाल नयाँ रणनीतिका साथ मैदान उत्रिने छ ।

फाइनलमा घरेलु टोली विरुद्ध बदला लिँदै उपाधि जित्ने लक्ष्यमा नेपाल छ ।

पहिलो खेलमै नेपाल घरेलु टोली बंगलादेशसँग पराजित भएको थियो ।

पहिलो खेल हारे पनि त्यसपछि प्रदर्शनमा सुधार गर्दै नेपालले भुटान र भारतलाई हराएर फाइनलमा स्थान बनाएको हो ।

साविक विजेता तथा बलियो टोली भारत विरुद्ध एक गोलले पछि परेपनि ३–१ को शानदार पुनरागमन जित निकालेको नेपाली टोली अहिले लयमा छ ।

खेल्ने शैली परिवर्तन हुनेछ स् मुख्य प्रशिक्षक गुरुङ

नेपालका मुख्य प्रशिक्षक याम बहादुर गुरुङले बुधबार भएको प्रिम्याच कन्फ्रेन्समा नयाँ रणनीतिमा मैदान उत्रने बताए ।

‘निश्चय नै बंगलादेशलाई घरेलु मैदानको फाइदा छ । तर हामी राम्रो प्रतिस्पर्धा गर्नेमा विश्वस्त छौँ ।

हामी अर्कै तरिकाले खेल्नेछौं । शैली परिवर्तन हुनेछ ।

गुरुङले भने ‘हामीलाई बंगलादेशको कमजोर पक्ष थाहा छ र हामी त्यसैलाई केन्द्रित गरेर खेल्नेछौं ।

उता घरेलु टोली बंगलादेशका प्रशिक्षक घोलम रब्बानीले फाइनल खेल प्रतिस्पर्धात्मक हुने बताए ।

‘फाइनल प्रतिस्पर्धात्मक र उत्साहित हुनेछ,’ रब्बानीले भने, ‘नेपाल राम्रो टिम हो ।

बलियो टोली भारतलाई हराएको छ । त्यसैले फाइनल प्रतिस्प्रधात्मक हुनेछ ।

घोलमकै प्रशिक्षणमा बंगलादेशको सिनियर महिला टोलीले गत सेप्टेम्बरमा काठमाडौंमा भएको साफ महिला च्याम्पियनसिपको उपाधि जितेको थियो ।