एसईईको प्रश्नपत्र छपाइ शुरू

काठमाडौँ । यस वर्षको एसईई परीक्षाको प्रश्नपत्र छपाइ शुरू भएको छ।

राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठसहितको टोली शनिबार जनक शिक्षा सामग्री पुगेको थियो।

त्यसलगत्तै हिजो आइतबारबाट प्रश्नपत्र छपाइ शुरू भएको हो ।

नेपाली सेनासहित तीन सुरक्षा निकायको घेराभित्र प्रश्नपत्र छपाई भइरहेको छ ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रवक्ता चित्रकुमार आचार्यले करिब ७२ जनाको सुरक्षा घेरामा प्रश्नपत्र छाप्न थालिएको जानकारी दिए ।

सुरक्षाको कमान्ड नेपाली सेनाका सेनानीले गरेका छन्।

भित्री घेरामा नेपाली सेना, त्यसपछि सशस्त्र र सबैभन्दा बाहिरी घेरामा नेपाल प्रहरीको टोली परिचालित छन् ।

केन्द्रका करिब ५० जना कर्मचारीले प्रश्नपत्र छाप्नेछन्।

यो वर्ष ५ लाख १६ हजार विद्यार्थीका लागि प्रश्नपत्र छपाइ भइरहेको छ ।

परीक्षामा २ लाख ६० हजार छात्र र २ लाख ५६ हजार छात्रा सहभगी हुनेछन् ।