भ्रष्टाचार मुद्दा खेपेकी ममता सत्ता गठबन्धनबाट उपराष्ट्रपति उम्मेदवार

काठमाडौं । सत्तारुढ १० दलीय गठबन्धनबाट उपराष्ट्रपति उम्मेदवारमा खडा भएकी ममता झाले भ्रष्टाचारको मुद्दा खेपेको पाइएको छ।

उनले भ्रष्टाचार मुद्दामा सफाइ पाएको दावी जनमत पार्टीका नेताहरुले गरेका छन् । झा भ्रष्टाचार मुद्दामा परेपछि साझा प्रकाशनको महाप्रबन्धबाट निलम्बनमा परेकी थिइन् ।

शनिबार अदालत बन्द भएकाले यथार्थ जानकारी दिन नसकिने विशेष अदालतका उप रजिष्टार नारद प्रसाद भट्टराईले बताए ।

दोषी ठहर भएको व्यक्तिले उम्मेदवार बन्न नपाउने बताए । मुद्दाको आधिकारिक अवस्था आइतबार अदालत खुलेपछिमात्र भन्न सकिने उनले नेपालप्रेसलाई बताए ।

ममता झाले ८ वर्षअघि भ्रष्टाचार अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट मुद्दा खेपेकी थिइन् । उनी साझा प्रकाशनको महाप्रबन्धक भएका बेला भ्रष्टाचार मुद्दा लागेको थियो।

साझा प्रकाशनको तत्कालीन महाप्रबन्धक झाविरुद्ध अख्तियारले भ्रष्टाचार अभियोगमा ३ लाख ६६ हजार विगो र सजाय मागसहित विशेष अदालतमा २०७१ जेठ ४ गते मुद्दा दायर गरेको थियो।

झाले साझा प्रकाशनमा द्धितीय तहमा कार्यरत माधव प्रसाद थपलियालाई आवश्यक न्युनतम शैक्षिक योग्ता स्नातक बिनानै प्रथम श्रेणीको अधिकृतमा नियुक्त गरी तलबभत्ता समेत दिएर सरकारी सम्पत्ति हानी नोक्सानी पुर्याएको अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेका थियो।

उनीसँगै थपलियाविरुद्ध पनि मुद्दा परेको थियो । झाले भ्रष्टाचार र अनियमितता गरेको भन्दै कर्मचारीले समेत आन्दोलन गरेका थिए।

उपराष्ट्रपति पदमा उम्मेदवार हुने व्यक्तिको योग्यतामा उच्च नैतिक चरित्र भएको हुनुपर्ने समेत कानूनी व्यवस्था रहेको छ।

भ्रष्टाचार मुद्दालाई नैतिक पतन जनिने कसूर मानिन्छ । सो अभियोग अन्तिम अदालतबाट प्रमाणित भएमा कुनै पनि पदमा उम्मेदवार बन्न पाइदैन।