गाडीको धुँवाले सर्वसाधारणलाइ सास्ती तर सरकार मुखदर्शक

अनुसा थापा-भक्तपुर

काठमाडाैं। उपत्यकाभित्र वा बाहिरी जिल्लामा सञ्चालित निजी प्लेटका वा सार्वजनिक यातायात यत्रो कालो धुँवाको मुस्लो फालेर गुडिरहेको देखिन्छ।

तापनि ती सवारीको अगाडि हरियो स्टीकर टाँसिरहेको भेटिन्छ। गाडीबाट निस्किएको धुँवाका कारण बाटोमा हिँड्न पनि महामुश्किल छ।

हानिकारक धुँवाले आँखा पिरो हुन्छ, श्वास फेर्न गाह्रो पनि उत्तिकै सास्ती हुन्छ। मुख छोपेर हिँड्नुपर्ने बाध्यता छ, सर्वसाधारणलाई। यता, धुँवाकै कारणले मौसममा पनि निकै असर परेको छ।

सरकारले २० वर्ष कटेका सवारी साधन हटाउने निर्णय गरिसकेको छ। सवारी दर्ता भएको मितिले २० वर्ष पुगेका गाडी विस्थापना गरिने भनेर कानुन बनिसकेको छ।

जुन राजपत्रमा प्रकाशित गरेर कार्यान्वयनमा समेत गइसकेको छ। तर, ट्राफिक प्रहरीले चेकजाँच नगर्दा बाटोमा खुलेआम आयु पुगेको गाडी दौडिरहेको छ।

ट्राफिक निदाउँदा यसको मार सर्वसाधारणलाई परेको छ। ट्राफिक र यातायात व्यवसायीको मिलोमतोमा सरकारको निर्णयलाई धोती लगाउने काम भइरहेको छ।

अहिले पनि बाटोमा सिसा फुटेको, सिट सबै निस्किसकेको,कुच्चिएको गाडी गुडिरहेको छ । यस्ता सवारीमा यात्रा गर्न जोखिमपूर्ण छ भने यसले प्रदुषण र ट्राफिक जाम पनि उत्तिकै गरेको छ । तर, ट्राफिकलाई मतलब छैन्।

यातायात व्यवसायीहरुले यातायात कार्यालयका कर्मचारीलाई घुस खुवाएर हरियो स्टीकर र जाँचपास ल्याइरहेका छन्। गाडी बाटोमा गुडिरहेको हुन्छ।

बिलबुक लगेर हरियो स्टीकर र जाँचपास पाँउछन्। यातायातका कर्मचारीको हातमा दुई हजार थमाइदियो भने ६ महिनाको जाँचपास पाइन्छ।

त्यसमध्ये दुई सय रुपैयाँ सरकारको ढुकुटीमा जान्छ, अरु यातायातका कर्मचारीको खल्तीमा । त्यस्तै, हरियो स्टीकरका लागि पनि दुई हजार रुपैयाँ तिर्छन्।५० रुपैयाँ राज्यको ढुकुटीमा जान्छ, एक हजार ९५० कर्मचारी ल्वाप्पै पारिदिन्छन्।

गाडी यात्रु बोकेर बाटामा गुडिरहेको हुन्छ, बिलबुकमा जाँचपास र प्रदुषण पास भनेर लेखिएको हुन्छ । ट्राफिक प्रहरी महाशाखा, यातायात व्यवस्था विभाग र वातावरण विभागले कहिलेपनि बाटोमा छड्के जाँच गरेको पाँइदैन्।

अनुगमन गर्ने निकाय नै निदाएपछि व्यवसायीलाई मनलाग्दी गर्ने आत्मबल त बढ्ने नै भयो। चढ्न नसक्ने गाडीहरु बाटामा गुडेका छन्। यात्रुचाँहि सँधै थोत्रा, कबाडी र झ्याम्पट सवारीमा यात्रा गर्नुपर्ने हो ?

गाडी रंगरोगन गरेको हुँदैन् । टायर खिएका गाडीहरु गुडिरहेका छन्। सिटबाट किला निस्किरहेको हुन्छ। गाडी त्यस्तै फोहोर हुन्छ । झयालमा सिसा हुँदैन् । यस्ता गाडीहरु जाँचपास भएका छन् । कर्मचारीहरु बिकाउ हुँदा यात्रुले पैसा तिरेर पनि राम्रो गाडी चढ्न पाएनन्।

यातायात व्यवसायीले गाडी मर्मत नै गर्दैनन्। समयसमयमा गाडी मर्मतसम्भार गर्नुपर्ने हुन्छ। गाडीको कन्डिशन ठिक छ कि छैन् ? यो त हेर्नुपर्यो नि।

यातायात व्यवसायीलाई जसरी पनि पैसा कमाउनु छ । तर, त्यस्ता गाडीका कारण यात्रुको ज्यान नै जोखिममा परेको छ। मर्न मनलागेर गाडी चढेजस्तै भएको छ।

पैसा तिरेर यात्रा गर्नुपरेको छ। तर, कतिखेर ज्यान जाने हो थाहा छैन्। गाडीको अवस्था ठिक नहुँदा पछिल्लो समय धेरै दुर्घटना भइरहेको छ।

यात्रुलाई गाडी कति वर्ष पूरानो हो ? थाहा हुँदैन्। गाडी आएपछि यात्रु चढ्छन्, आफ्नो गन्तब्यमा नपुग्दै दुर्घटनामा परेर मर्छन्। यो क्रम अहिले व्यापक बढेको छ।

सवारी दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या उच्च छ । यात्रुले बिलबुक मागेर चेक गर्ने कुरा भएन् । ट्राफिक चेक गर्न चासो देखाउँदैन्। सरकारका निकायहरु गैरजिम्मेवार हुँदा यात्रुहरुले अकालमा ज्यान गुमाइरहेका छन्। कतिपय सार्वजनिक सवारीले नक्कली सिट हालेका छन्।

त्यस्ता सवारीलाई ट्राफिकले कारबाही गरेको छैन्। यातायात व्यवसायीले ढोकैसम्म यात्रु हालेर गाडी गुडाइरहेका छन्। गाडीले धान्न सकेको हुँदैन् तर उनीहरु आफ्नो फाइदाका लागि कोचीकोची यात्रु हाल्छन्।

केही कारणबस् दुर्घटना भयो भने जिम्मेवार को ? यातायात व्यवसायी कि ट्राफिक प्रहरी ? ट्राफिक अनुगमन नगर्ने, यातायात व्यवसायी मनोमानी चलाउने अनि मरिदिनुपर्ने चाँहि जनता ? सरकारले ट्राफिक राख्नु नै बेकार भएको छ।

ट्राफिक भएपनि नभएपनि केही फरक आएको छैन्। उनीहरुकै अगाडिबाट यातायात व्यवसायीले ढोकैभरी यात्रु हाल्छन् तर केही गर्ने होइनन्। जनताले तिरेको कर फोगट्टे खेर गइरहेको छ।

काम नै नगर्ने हो भने जनताले तिरेको करबाट किन तलबभत्ता लिनु ? किन लुगा लगाउनु ? ट्राफिकले कहिले सवारीमा चढेर अनुगमन गरेको छ ? कुनै गाडीमा भाडा लिस्ट छ ?

सरकारले एक किलोमिटरबाट पाँच किलोमिटरसम्म २० रुपैयाँ भाडा तोकेको छ । तर, भाडादरमा भागबण्डा नगरिदिँदा आधा किमि यात्रा गर्ने र पाँच किमि यात्रा गर्नेले उत्ति नै भाडा तिर्नुपरेको छ।

एक किमि यात्रा गर्नेले त चार रुपैयाँ तिर्नुपर्ने होइन् र ? सरकारले सर्वसाधारण चुस्ने र यातायात व्यवसायीलाई धनी बनाउने काम गरिरहेको छ । एउटा व्यक्ति एकदिनमा चार चोटिसम्म सार्वजनिक यातायात चढ्छन्। यातायात व्यवसायीले सरकारले तोकेकोभन्दा बढी भाडा लिएर दिनमा १८ करोड रुपैयाँभन्दा बढी ठग्छन्।

चाहे ट्याक्सी होस् चाहे अन्य सार्वजनिक सवारी साधन जहाँपनि लुटैलुटको धन्दा मच्चाइएको छ । यता, सरकारले लामो समयदेखि नयाँ ट्याक्सीको दर्ता खोलेको छैन्।

सिण्डिकेट यथावत छ। यातायात क्षेत्रमा एउटै व्यवसायीले वर्षौदेखि राज गरिरहेका छन् । हरियो प्लेट र कालो प्लेटको ट्याक्सीको दर्ता नखोलिदिँदा यात्रु मर्कामा परेका छन्।

आपतविपत पर्दा सवारी साधन पाउन महाभारत छ । पाएपनि चर्को भाडा तिर्नुपर्ने बाध्यता छ। सरकारको कारणले जनता सबैतिर ठगिए, लुटिए।

सवारी साधन दुर्घटनामा परेर दैनिक ११ जनाले ज्यान गुमाइरहेका छन् । बस दुर्घटनामा पर्दा एकै ठाँउमा ३४ देखि ३५ जना मरेको घटना पनि छन्।

विडम्बना, सरकारको आँखा खुल्दैन् । सरकारको लापरवाहीले गर्दा जनताको ज्यान गइरहेको छ । सरकारलाई जनताको अलिकति पनि माया छैन्।

जनताप्रति सरकार जिम्मेवार हुन सकेन्। थोत्रा गाडी चल्न नदिने, कलिलो उमेरका व्यक्तिलाई लाइसेन्स नदिने, घुस खाएर थोत्रा सवारीलाई जाँचपास नदिने, गाडी चेकजाँच गर्नेलगायतका नियम बनाउनुपर्यो । त्यस्तै, दुर्घटनामा परेर ज्यान गुमाएकालाई ३० लाख रुपैयाँ बीमाबापत दिनुपर्छ। क्रिया खर्च तीन लाख रुपैयाँ दिनुपर्छ।

अंगभंग भएकालाई २० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्छ । उसको सबै उपचार खर्च यातायात व्यवसायीले बेहोर्नुपर्छ। यातायात व्यवसायीले मान्छे मार्यो भने ३५ दिनमा धरौटी तिरेर निस्किन्छ। गाडी दुर्घटनामा परेर यात्रु मर्यो भने एक लाख क्षतिपूर्ति दिन्छ। ५० हजार क्रिया खर्च।

त्यस्तै, गाडीले ठक्कर दिएर मान्छे मर्यो भने पाँच लाख क्षतिपूर्ति दिन्छ । एक लाखमा मान्छेको ज्यान किन्न पाइन्छ ? मर्ने मान्छे मरेको मर्यै हुन्छ । यातायात व्यवसायीलाई केही न केही।

न सजाय काट्नुपर्यो न उसको केही बिग्रिन्छ। नेपालको संविधानले आफ्ना नागरिकलाई बाँच्न अधिकार त दिएको होला नि ? एउटा नागरिकको मृत्यु हुँदा उसको परिवारलाई कति क्षति हुन्छ ? राज्यलाई कति घाटा हुन्छ ? उसले कमाएर उसको परिवार पाल्थ्यो।

राज्यलाई पाइलापाइलामा कर आँउथ्यो। राज्यले जनता जन्माउने होइन्, जनता मार्नेलाई छोड्ने अधिकार पनि राज्यसंग छैन् । आफ्नो सन्तान गुमाउनेलाई मात्र पीडा थाहा हुन्छ । राज्यलाई त के छ र ?

यातायात व्यवसायीले लामो समयदेखि राजस्व छलिरहेका छन्। गाडीमा लगानी गरेको र दैनिक आम्दानीको राजस्व यातायात व्यवसायीले तिरेका छन् ?

एउटा गाडीमा १० देखि ८० लाखसम्म लगानी गरिएको छ। गाडीले दैनिक पाँचदेखि ५० हजारसम्म आम्दानी गर्छ। तर, कर खोइ त ? बाटो राज्यको हो।

राज्य यातायात व्यवसायीको सामु लाचार बन्यो। २०४९ सालदेखि सरकारले यातायात व्यवसायीसंग लिनुपर्ने राजस्व बढेको छैन् । तर, यात्रुले तिर्नुपर्ने भाडा त पटकपटक बढ्यो।

सरकारभन्दा यातायात व्यवसायी शक्तिशाली बने। यात्रु र राज्य दुवैलाई यातायात व्यवसायीले ठगेका छन्।

सरकारले दुई पाङग्रे सवारी साधनको प्रदुषण चेक गर्ने कानुन ल्यायो भने राज्यको ढुकुटीमा राजस्व आँउछ। प्रदुषण कम हुन्छ। अहिले सबैभन्दा धेरै दुई पाङग्रे सवारी साधन सञ्चालनमा छन्।