कांग्रेसमा मन्त्री बन्नेको लर्को, देउवा र गगन बाहेक यी सबै सांसदहरू मन्त्रीको दौडमा

काठमाडौं। सरकार विस्तार गर्ने तयारी भएसँगै नेपाली कांग्रेसभित्र मन्त्री बन्नेको लर्को लागेको छ। अहिले कांग्रेस प्रमुख प्रतिपक्षी दलको भूमिकामा छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि कांग्रेस सरकारमा जाने तयारीमा छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदो ६ गते विश्वासको मत लिँदैछन्। उनका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलका अनुसार प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिने तयारी छ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपश्चात् सरकार विस्तार गर्ने तयारीमा छन्। प्रधानमन्त्रीको दल नेकपा ९माओवादी केन्द्र० उपमहाचिव शक्ति बस्नेत प्रधानमन्त्रीले विश्वासको मत लिएपश्चात् सरकार विस्तार हुने बताउँछन्।

अहिले सरकारमा १६ मन्त्रालय खाली छन्। सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्ड मातहतमा छ। प्रधानमन्त्रीले विश्वासको मत लिएको हप्ता दिनभित्र सरकार विस्तार भइसक्ने वुझाइ कांग्रेसभित्र पनि छ। प्रवक्ता प्रकाशरण महत प्रधानमन्त्रीले विश्वासको मत लिएको केहीदिनभित्रै सरकार विस्तार भइसक्ने दाबी गर्छन्।

नेताहरूको अभिव्यक्तिलाई आधार मान्दा चैत दोस्रो हप्ताभित्र सरकारले पूर्णता पाउनेछ। विस्तार भएको मन्त्रिमण्डलमा दोस्रो वरीयता लिएर कांग्रेस सत्तारूढ दल बन्ने तयारीमा छ। ४ मंसिरमा सम्पन्न भएको निर्वाचनले कांग्रेसलाई संसद्मा पहिलो दलको हैसियत दिलाएको हो।

१३ फागुनमा बनेको आठदलीय गठबन्धनभित्र नेकपा(एस) र नेपाली कांग्रेसले एक–एक वर्ष सरकारको नेतृत्व गर्दा बाँकी रहेको समय माओवादीले सरकारको नेतृत्व गर्ने सहमति गरेको थियो।

उक्त सहमतिअनुसार प्रचण्ड नेतृत्वको सरकार ३ वर्ष सम्म चल्ने देखिन्छ। तीन वर्ष मन्त्री बन्न हालसम्म महामन्त्रीद्वयबाहेक अरू आकांक्षी छन्। अझ लामो समय संस्थापन र इतर भनेर गुटमा खुलेका नेताहरूको आंकाक्षा धेरैको छ।

संस्थापन र इतर समूह दुबैतर्फ लागेका पूराना तथा नयाँ अनुहारहरू पनि आफूलाई मन्त्री बनाइदिन आग्रह गर्दै सभापति देउवा निवास र इतर समूहका नेता डा. शेखर कोइरालाको निवास धाइरहेका छन्।

यस्तै भर्खरै निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको कोटाबाट भए पनि मन्त्री बन्ने आकांक्षा केही नेताहरूमा छ। सहमहामन्त्रीहरू, बद्री पाण्डे, जीवन परियार, किशोरसिंह राठोर मन्त्री बन्ने दौडमा छन्। परियार र पाण्डे इतर समूह र राठौर संस्थापन समूहका हुन्। सहमहामन्त्री पाण्डेप्रति राष्ट्रपति पौडेलको समेत सद्भाव रहेको बताइन्छ।

कांग्रेका प्रवक्ता समेत रहेका सांसद प्रकाशरण महत सहित सांसदहरू वीरबहादुर बलायर, एनपी साउद र रमेश लेखकमध्ये एक नेताले अवसर पाउने बुझाई संस्थापन पक्षमा छ।

लेखक दलको प्रमुख सचेतक भए पनि मन्त्री बन्ने दौडमा रहेका छन्। प्रमुख सचेतक बस्न तयार नभएका लेखकलाई पार्टी प्रतिपक्षमा रहँदासम्म भनेर प्रमुख सचेतक बनाइएको चर्चा उनीनिकटहरूले गरिरहेका छन्।

यस्तै, सांसद्हरू रामहरि खतिवडा, मोहन बस्नेत तथा शंकर भण्डारी पनि मन्त्री बन्ने दौडमा छन्। तराई–मधेश क्षेत्रबाट दिनेश यादव, राष्ट्रिय सभा सदस्य जितेन्द्र तथा देवप्रसाद तिम्सिना छन्। मन्त्री बन्ने दौडमा प्रधानमन्त्री पत्नी समेत रहेकी सांसद आरजु राणा देउवा पनि छन्।

उनको रोजाइमा परराष्ट्र मन्त्रालय छ। संस्थापन पक्षका महिलामध्येबाट तेह्रथुमबाट प्रत्यक्ष निर्वाचन जितेकी एकमात्र महिला सांसद सिता गुरुङ पनि लविङमा लागेकी छन्। यस्तै सांसदहरू इश्वरी न्यौपाने, अम्बिका बस्नेतको पनि चर्चा छ।

कांग्रेसमा इतर समूहबाट सरिता प्रसाईं, रामनाथ अधिकारी, सञ्जय गौतम, हृदयराम थानी तगा दिपक गिरी मन्त्री बन्ने दौडमा छन्। समूहबाट रामकृष्ण यादव, तेजुलाल चौधरी,डिगबहादुर लिम्बु ,प्रतिमा गौतम,लिला बोखिम आकांक्षी छन्।

शेखर निकट नेता डा.सुनिल शर्मा समूहभित्र को मन्त्री बन्ने र कसलाई पठाउने भन्ने विषयमा सामान्य छलफल पनि प्रारम्भ नभएको बताउँछन् । उनी डा.शेखरले पनि मन्त्रिपरिषद्मा जानेबारे मनसाय नराखेको भन्दै आफूहरू छलफल नगरेको प्रस्ट पार्छन्।

यो विषयमा समूहभित्र छलफल भएको छैन र हाम्रा नेता शेखर कोइरालाले पनि केही भन्नुभएको छैन,उनले भने,साथीहरूको व्यक्तिगत आकांक्षाको बारेमा त म जान्दिन तर समूहमा कुनै पनि छलफल भएको छैन।

आकांक्षीको संख्या हिसाब गर्दा मन्त्रालयभन्दा तेब्बर बढी सांसदहरू मन्त्री बन्ने दौडमा छन्। सभापति देउवा निकट एक सांसद तथा केन्द्रीय सदस्य नेतृत्वको आकांक्षी व्यवस्थापन चुनौतीपूर्णनै भएको बताउँछन्। यस्तै, पार्टीमा शशांक कोइराला निकट मानिएका दिपक खड्का पनि मन्त्रीका आकांक्षी हुन्।

१० पुसमा गठबन्धन बन्न नदिने र आफ्नो नेतृत्वमा आएको सत्ता गुमाउन भुमिका खेल्ने प्रकाशरण महत, ज्ञानेन्द्रबहादुर कार्की लगायत नेता त मन्त्री बन्न मरिमेटेका छन् भने अब आफैँ सम्झनु न अरू कति लागेका होलान्,उनले भने, हामी जस्ता गठबन्धन बन्नुपर्छ भनेर लागेकाहरू त झन मन्त्री बन्न लाग्नै भयौं नि।

आकांक्षी धेरै छन्, सबैलाई मन्त्री बन्नुपरेको छ। हेरौं कसरी मिल्छ। पार्टीका अर्का एक पदाधिकारी राजनीतिको अन्तिम उद्देश्यनै सत्ता र शक्ति भएकाले आकाक्षी देखिनु स्वभाविक ठान्छन्।