कांग्रेसबाट सरकारको नेतृत्व यी चार नेता मध्य कसले गर्ला ? यस्तो छ देउवाको तयारी

फाइल तस्वीर

काठमाडौं ।  नेपाली कांग्रेस प्रतिनिधिसभाको सबभन्दा ठूलो दल आइतबारबाट औपचारिक रुपमा सत्ता पक्ष बनेको छ। आइतबार बसेको कांग्रेस कार्यसम्पादन समिति र संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिँदै सरकारमा जाने निर्णय गरेको हो।

लगत्तै संसदमा सत्तापक्षीय बेञ्चमा बसेको कांग्रेसमा सरकारमा पार्टीको नेतृत्व गर्ने रस्साकस्सी सुरु भइसकेको छ। उपसभापति पूर्णबहादुर खड्का, नेताहरु विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा.शेखर कोइराला लगायतको दाबी छ।

कांग्रेस नेताहरुका अनुसार सरकारमा कांग्रेसको नेतृत्वका लागि खड्का नै प्रमुख र स्वभाविक दाबेदार हुन्।

पार्टीको उपसभापति, लामो समयदेखि सरकारमा नगएको र १० पुसमा नेकपा एमालेतिर गएर प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डसँग निरन्तर सम्वाद गरेर कांग्रेसतिर ल्याउन निरन्तर लागेका कारण उनी स्वभाविक दाबेदार हुन्।

विगतमा पटकपटक मन्त्री बन्नुभएका खड्का उपप्रधानमन्त्री बन्नुभएको छैन। २०६४ पछि त मन्त्री पनि हुनुभएको छैन’, केन्द्रीय सदस्य रामहरि खतिवडा भन्छन्, ‘यो गठबन्धन बनाउन पनि निरन्तर लाग्नुभएको नेता हो।

तर उपसभापति खड्काले सार्वजनिक रुपमा मुख खोलेका छैनन्। शुक्रबार उपराष्ट्रपति निर्वाचनपछि सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा पनि उनी ‘अहिले केही बोल्दिन’ भन्दै पन्छिएका थिए।

बरु १५ फागुनमा त उनले ट्वीट गर्दै आफ्नो नाम जोडेर सरकारमा जाने दाबी गरेको भनेर प्रचार नगर्न अनुरोध नै गरेका थिए।

निकटवर्तीहरुका अनुसार सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्वका लागि अरु नेताहरुसँग प्रतिस्पर्धामा राखेपछि उनले असन्तुष्टि स्वरुप यस्तो ट्वीट गरेका हुन्।

तर उनी सरकारमा पार्टीको नेतृत्व गर्न इच्छुक छन् । ‘पूर्णबहादुरजी सरकारमा जाने सोचमा हुनुहुन्छ। सबैतिरबाट दबाव बढाइदिउन् भन्ने चाहना राखेर मेरो चाहना छैन भन्नुभएको होला,एक नेता भन्छन्, ‘उपप्रधानसहित गृह वा अर्थ मन्त्रालय पाए जानुहुन्छ, मूख्य कुरा पार्टीबाट नेतृत्व हो।

पार्टीको नेतृत्व गरेर सरकारमा जान इच्छुक अर्का नेता हुन्, पूर्व उपसभापति विमलेन्द्र निधि। उनले आफ्नो आकांक्षालाई सभापति देउवालाई सुनाइसकेका छन्, तर देउवाले बचन दिएका छैनन् ।

निधि मधेशमा पार्टीको सिनियर नेता भएको र १४ औं महाधिवेशनमा सभापतिको दोस्रो चरणको चुनावमा साथ दिएकाले उनलाई सरकारको नेतृत्व दिनुपर्ने निकतवर्तीको तर्क छ ।

तर संस्थापन समूहले उनको नेतृत्व स्वीकार गर्ने सम्भावना कम छ। साथै देउवाले पनि समानुपातिकतर्फ सांसद बन्ने ३ पुरुषमा पारेका कारण फेरि सरकारको नेतृत्व दिने सम्भावना कम रहेको एक पदाधिकारी बताउँछन्। सरकारमा पार्टीको नेतृत्व गर्ने अवस्था नभए सरकारमा सहभागी हुन निधिलाई नैतिक संकट हुनेछ।

‘अरुले सरकारको नेतृत्व गरेर जाने हो भने विमल दाइ सरकारमा जानुहुन्न,निधि निकट एक नेता भन्छन्, ‘उपसभापति र उपप्रधानमन्त्री भइसकेको व्यक्ति अर्काको नेतृत्वमा जान मिल्दैन ।

उपप्रधानमन्त्रीसहित सरकारमा कांग्रेसको नेतृत्व गर्ने दौडमा रहेका अर्का नेता हुन् प्रकाशमान सिंह। उपप्रधानमन्त्री भइसकेका उनी मन्त्री मात्रै भएर सरकारमा जाने मनस्थितिमा छैनन्। उनी भन्छन्, ‘संविधान जारी गर्दा उपप्रधानमन्त्री भइसकेको हुँ। कसको नेतृत्वमा पठाउने पार्टीले डिसिजन गर्ने कुरा हो।

स्रोतका अनुसार देउवाले उपसभापति पूर्णबहादुर खड्काबाहेक अरुलाई रोजेमा सिंहको सम्भावना प्रवल छ। १४औं महाधिवेशनमा पहिलो चरणमा सभापतिमा प्रतिस्पर्धा गरेका उनले दोस्रो चरणमा देउवालाई समर्थन गरेका थिए ।

त्यो बेला उनीसँग सम्वाद देउवाभन्दा पनि उनकी पत्नी आरजुले गरेकी थिइन्। स्रोतका अनुसार त्यही गुन तिर्न आरजुको जोडबलमा देउवाले काठमाडौं महानगरपालिकाको मेयरमा सिंह पत्नी सिर्जनालाई टिकट दिएका थिए।

तर सिर्जनाले चुनाव हारेकाले अब प्रकाशमानलाई प्रचण्ड सरकारमा पार्टीको नेतृत्व गराएर पठाउने सम्भावना रहेको एक नेताले सुनाए।

देउवा गुटमा एक अर्कालाई स्वीकार गर्नुको साटो सिंहलाई सरकारमा पठाउँदा सबैले आफू अनुकुल मान्न सक्ने नेताहरु बताउँछन्।

संस्थापनइतरका नेता डा.शेखर कोइरालालाई पनि सरकारमा कांग्रेसको नेतृत्वको दाबेदारका रुपमा हेरिएको छ। अहिलेसम्म सत्ताको जिम्मेवारीमा नगएका कोइरालालाई निकटवर्तीहरुले सरकारको नेतृत्व गरेर जान सल्लाह दिएका थिए।

सुरुमा उनले रुचि पनि देखाएका थिए। तर न आफ्नै समूहका नेताहरुसँग मुख खोलेका छन्, न सभापतिसँग भेटेर प्रष्ट मत राखेका छन्।

उनी निकट केन्द्रीय सदस्य डा.गोविन्द पोखरेल पनि सरकारमा जानु भन्दा संगठनलाई चलायमान बनाउने डा. शेखरको प्राथमिकता भएको बताउँछन्।

चुनावी गठबन्धनले कांग्रेसमा निराशा छाएको भन्दै उनले भने, कार्यकर्ताहरुलाई पुनर्जागृत गराउन संगठनमा उहाँको आवश्यकता छ। उहाँ संगठनतिर लाग्नुहुन्छ, सरकारमा जाने प्राथमिकता होइन।

महामन्त्री गगन थापालाई दावेदारका रुपमा हेरिएको थियो। तर उनले सार्वजनिक रुपमै सरकारमा नजाने घोषणा गरेका छन्।

आफूले प्रधानमन्त्री बन्न चाहना राखेर संसदीय दलको चुनाव लडेपनि त्यस अनुकुल परिणाम नआएको भन्दै उनले भन्ने गरेका छन्, म न अहिले मन्त्री बन्न मिल्छ, न बन्दैछु।

चार नेताबाहेक प्रवक्ता डा.प्रकाशरण महत, केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेताहरुले पनि सरकारमा पार्टीको नेतृत्व गरेर जान चाहेका छन्।

उपप्रधानमन्त्रीसहित अर्थमा दाबी गरेका डा.महत यसका लागि आफू सबल र सक्षम व्यक्ति भएको दाबी गर्छन्। अन्य नेताले नेतृत्व गरे मन्त्री हुने गरी जाने/नजाने भन्ने प्रश्नमा उनले भने, ‘कसले नेतृत्व गरेर जाने हेरेर हुन्छ।