कर्णाली प्रदेशमा एमाले सरकार रहनु उचित होइन: जनार्दन शर्मा

काठमाडौं । सत्तारुढ गठबन्धनले कर्णाली प्रदेश सरकारबाट नेकपा एमालेलाई हटाउने तयारी गरेको छ ।

हाल एमाले–माओवादी गठबन्धनको सरकार रहेकामा केन्द्रमा एमाले आउट भइसकेकाले माओावादी र कांग्रेस समम्लित गठबन्धनले प्रदेश सरकारबाट एमालेलाई आउट गर्ने तयारी गरेको हो ।

कर्णालीमा आलोपालोमा सरकार चलाउने सहमतिका साथ एमालेले माओवादीका राजकुमार शर्मालाई मुख्यमन्त्रीमा समर्थन गरेको थियो। केही दिनअघि विश्वासको मत लिँदा पनि एमालेले शर्माको पक्षमा भोट हालेको छ ।

तर, माओवादी केन्द्रका नेता जनार्दन शर्मा र नेपाली कांग्रेस कर्णाली संसदीय दलका नेता जीवनबहादुर शाहीले मन्त्रिमण्डल पुनर्गठनबारे छलफल गरेका छन् ।

सुर्खेत विमानस्थलमा पत्रकारसँग बोल्दै पूर्वअर्थमन्त्रीसमेत रहेका शर्माले छिट्टै सरकारलाई नयाँ स्वरूप दिने सहमति भएको बताए ।

उनले भने, ‘केन्द्रमा गठबन्धन फेरिएपछि प्रदेशहरुमा पनि नयाँ दिशा दिनुपर्ने हुन्छ । त्यहि अनुसार कर्णाली सरकारले नयाँ स्वरुप पाउँछ ।’

तर कर्णालीमा गठबन्धनमा रहेका माओवादी र कांग्रेस पहिले कसले सरकारको नेतृत्व गर्ने भन्नेमा एकमत छैनन् ।

चुनावताका प्रधानमन्त्री समेत रहेका पुष्पकमल दाहाल प्रचण्डले मुख्यमन्त्रीका लागि कांग्रेसलाई वचन दिएका छन् । तर, माओवादी नेताहरु कर्णालीमा माओवादी नेतृत्वकै सरकार हुने बताउँछन् ।