कोशीको विरोध आन्दोलनमा मृत्यु भएका पदमबहादुर लिम्बू शहीद घोषणा

काठमाडौं । कोशी प्रदेश नाम राखिएको विरोध आन्दोलनमा मृत्यु भएका पदमबहादुर लिम्बुलाई सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको छ।

आज बिहान बसेको मन्त्रिपरिषद बैठकले लिम्बुलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। साथै मृतक लिम्बूका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको उनले बताइन्।

कोशी प्रदेशको नाम खारेज गर्नुपर्ने मागसहित आन्दोलनमा रहेका बेला यही चैत ५ गते विराटनगरस्थित मुख्यमन्त्री कार्यालय अगाडि प्रहरीको लाठी लागेर घाइते भएका ४२ वर्षीय लिम्बुको उपचारको क्रममा मृत्यु भएको थियो।

धरान उपमहानगरपालिका–१५ बस्दै आएका उनी लिम्बुवान भोलेन्टियर्सका केन्द्रीय सहकमाण्डर हुन् । लिम्बुको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा चैत १० गते मृत्यु भएको थियो ।

पहिचानवादी दल र संस्थाहरुले गठन गरेको प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिले लिम्बुलाई शहीद घोषणा गर्न माग गरेको थियो । सरकारले घटनाको छानबिन गर्न समिति गठन गरेको थियो।

मन्त्रिपरिषद बैठकपछि मन्त्री शर्माले भनिन्, ‘कोशी नामाकरण सन्दर्भमा कोशी प्रदेशमा आन्दोलनको क्रममा पदमबहादुर लिम्बूकाे निधन हुन पुग्यो । त्यसपछि आन्दोलनकारीसँगको छलफलबाट छानबिन समिति बनेको थियो।

त्यसपछि काम प्रक्रिया अघि बढ्ने क्रममा आन्दोलनका क्रममा निधन भएका पदमबहादुर लिम्बुलाई शहीद घोषणा गर्ने र क्षतिपूर्ति उपलब्ध गराउने निर्णय भएको छ। नामाकरण सम्बन्धी आन्दोलनलाई प्रदेशसँग वार्ता गरेर अघि बढ्न यहाँबाट सहजीकरण गर्ने कुरा भएको छ।