युएई र नेपालबिच रोकिएको खेल आज हुँदै

फाइल तस्बिर

काठमाडौं । एसिसी प्रिमियर कपको फाइनल खेल अन्तर्गत सोमबार वर्षाले प्रभावित खेल आज हुने भएको छ।

बिहान ९ बजे टियु क्रिकेट मैदानमा नेपाल र युएई बिचको खेल सुरु हुनेछ। खेल युएईले २७.३ ओभरमा १०६–९ को अवस्थाबाट सुरु गर्नेछ ।

स्पिनर ललित नारायण राजवंशीको ह्याट्रिक बल सामना गर्न अन्तिम ब्याटर जुनैद सिद्दिक आउनेछन् । क्रिजमा कार्तिक मयाप्पन ६ बलमा १ रनमा छन् ।

यदि ललितले आजको खेलमा पहिलो बलमै विकेट लिन सके उनी नेपालबाट ओडिआईमा ह्याट्रिक पूरा गर्ने पहिलो खेलाडी बन्नेछन् ।

विश्वको ५१ औं खेलाडी बन्नेछन् । ललितले दोस्रो बलमा आसिफ खान र तेस्रो बलमा जहुरु खानलाई स्लिपमा आरिफ शेखबाट क्याच गराउँदै ह्याट्रिक नजिक पुगेका थिए । तर वर्षाको कारण ह्याट्रिक बल भने गर्न पाएका थिएनन् ।

आज पनि वर्षाको सम्भावना छ । १० बजेपछि वर्षाको सम्भावना रहन्छ । दिउँसो १२ बजेपछि भारी वर्षाको सम्भावना छ ।

वर्षा अघि सम्म नेपाल विजयी नभएमा नतिजा निकाल्न सुपर ओभर गर्न सक्ने सम्भावा रहन्छ । सुपर ओभर भने नेपाललाई ठूलो घातक बन्नसक्छ ।

यदि आज दिउँसो ५ बजे सम्म नतिजा आएन भने सुपर ओभर हुनेछ । तर सुपर ओभर पनि गर्न सक्ने अवस्था नभएमा नेपाल ओडिआई वरियताको कारण एसिया कपमा पुग्नेछ।

नियम अनुसार रिजर्भ डेमा पनि पानी परेमा ओडिआई वरियतामा माथि रहने टोली एसिया कपमा पुग्नेछ।

नेपालको ओडिआई वरियता १४ औं र युएईको १९ औं छ।