एमाले बैठकका यस्ता छन् १४ निर्णय

काठमाडौं । नेकपा एमालेको पाँचौँ केन्द्रीय कमिटी बैठक विभिन्न १४ वटा निर्णय गर्दै सम्पन्न भएको छ। वैशाख २८ गतेबाट सुरु भएको एमाले बैठक १४ वटा निर्णय र १६ वटा समसामयिक प्रस्ताव पारित गर्दै शनिबार सम्पन्न भएको हो।

मिसन ग्रासरुट अभियानको समीक्षा गर्दै त्यसका आधारमा स्थायी कमिटी बैठकले तयार गरेको वार्षिक कार्ययोजनालाई केन्द्रीय कमिटी बैठकले पारित गरेको छ।

जसमा पार्टी सदस्यता शुद्धीकरण र विस्तार कार्यक्रम प्रभावकारी बनाउने, पार्टी सदस्यता नवीकरणको काम असार मसान्तभित्र पुरा गर्ने, पार्टी कमिटीहरू भद्दा भएकाले प्रदेशदेखि वडासम्म अधिवेशन पुन गर्ने एमालेको निर्णय छ।

यसअघि एमालेले तल्ला तहका अधिवेशन एक वर्षअघि मात्रै सम्पन्न गरेको थियो । अब तल्ला तहको अधिवेशनहरू गर्दा पहिला प्रदेश त्यसपछि जिल्ला, पालिका हुँदै वडा र टोलको अधिवेशन गर्ने निर्णय गरेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

गत निर्वाचनहरूमा आएको मत परिणामलाई समेत विश्लेषण गरेको एमाले बैठकले वैचारिक राजनीतिक प्रशिक्षण नियमित गर्दै प्रशिक्षणको वर्गीकरणमा जोड दिएको छ ।

उच्च माध्यमिक र आधारभूत तहको प्रशिक्षणका लागि केन्द्रीय पार्टी स्कुल विभागले पाठ्यक्रम, पाठ्य सामग्री र प्रशिक्षक तयार गर्ने एमालेले जनाएको छ ।

त्यस्तै जनसंगठनहरुलाई समेत सक्रिय पार्न जनसंगठन सुदृढीकरण तथा विस्तार अभियान चलाउने निर्णय गरेको छ । जनसंगठनलाई पार्टी कार्यकर्ता निर्माण गर्ने ‘इन्कुभेसन सेन्टर’ का रूपमा रूपान्तरित गरिने एमालेले जनाएको छ ।

त्यस्तै राजनीतिक ध्रुविकरणलाई प्रभावकारी बनाउन पार्टी प्रवेश अभियान चलाउने एमालेको निर्णय छ। एमालेले जनप्रतिनिधि र स्थानीय तहको काम प्रभावकारी बनाउन ‘मिसन डेलिभरी’ का रूपमा स्थानीय तहका जननिर्वाचित प्रतिनिधिहरुलाई प्रभावकारी रूपमा क्रियाशील बनाउने भएको छ।

डेलिभरीमार्फत सुशासनसँगै डेभलपमेन्टको अवधारणामा सेवा प्रवाहको कार्यक्रम सञ्चालन गर्ने एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

त्यस्तै एमालेले युवाहरूको बीचमा पार्टी विस्तार गर्न ‘मिसन योग’ र ‘देशैभरि छोराछोरी’ जस्ता कार्यक्रम सञ्चालन गर्ने भएको छ।

यसका साथै मध्य पहाडी र हुलाकी राजमार्ग अभियान पनि एमालेले चलाउने भएको छ । यी सबै कामका लागि एमालेले सबै केन्द्रीय सदस्यहरूको नयाँ कार्य विभाजन गर्ने निर्णय गरेको छ।

केन्द्रीय सदस्यहरूको नयाँ कार्यविभाजन गरिनेछ। मिसन ग्रासरुटले दिएको शिक्षाका आधारमा प्रत्येक केन्द्रीय सदस्यले एक वर्ष आफ्नो भूगोलबाहिरको कार्यक्षेत्रमा खट्ने गरी नयाँ कार्यविभाजन हुनेछ’ एमाले केन्द्रीय कमिटी बैठकले गरेको निर्णयमा भनिएको छ।