यी प्रदेशमा आज र भोलि हावाहुरीसहित भारी वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ।

हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जसको प्रभावले हाल सुदूरपश्चिम,कर्णाली, लुम्बिनी,गण्डकी र बागमती प्रदेशमा सामान्य देखि पूर्णतया बदली रहेको छ। यी पाँच प्रदेशका एकदुई स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशको पहाडी भू-भागहरुका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै कोशी,बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी, मधेस र बागमती प्रदेशका तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।

आज र भोलि यो सिलसिला जारी रहने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।