सशस्त्र प्रहरी बलकाे विपद् प्रतिकार्य कृतिम अभ्यास सम्पन्न

काठमाडाैं। सशस्त्र प्रहरी बल,नेपालले विपद् प्रतिकार्य कृतिम अभ्यास सम्पन्न गरेकाे छ। सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय बलम्बु,काठमाडौंको आयोजनामा जेठ १२ गते काठमाडौंको किर्तिपुर नगरपालिका ६ स्थित टौदहमा विपद् प्रतिकार्य कृतिम अभ्यास सम्पन्न भएको छ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतमको प्रमुख आतिथ्यमा सम्पन्न अभ्यासमा मनसुनको सुरुवातसंगै घट्नसक्ने बाढी, पहिरो, डुबान एवं विपद्का घटनाहरुमा चुस्तदुरुस्त रुपमा परिचालन हुनको निमित्त पूर्वतयारी स्वरुप विपद् प्रतिकार्य कृतिम अभ्यास संचालन गरिएको हो।

उपलब्ध खोज तथा उद्धारका श्रोतसाधनको अधिकतम प्रयोग गरी जिल्ला एवं प्रदेशस्थित विपद् व्यवस्थापनसँग सरोकार राख्ने निकाय तथा अन्य सुरक्षा निकायहरुलाई सहभागी गराई बाहिनीस्तरिय कृतिम अभ्यास सशस्त्र प्रहरी बल, नेपाल नं. १८ निलबराही गण बलम्बु र नं २० विपद् उद्धार गण सिनामंगलको सहकार्यमा सम्पन्न भएको हो।

कार्यक्रममा अतिरिक्त महानिरीक्षक गौतमले कुनै पनि विपद्को अवस्थामा उद्धारकर्ताले सामना गर्नुपर्ने परिदृष्यको वास्तविकताको झल्को दिने कृतिम अभ्यासले विपद् प्रतिकार्यलाई व्यवस्थित एवं प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

उहाँले सशस्त्र प्रहरी बल, नेपाललाई राज्य प्रदत्त विभिन्न कार्यदेश मध्ये विपद् व्यवस्थापन एउटा महत्वपुर्ण कार्यादेश भएको उल्लेख गर्नुहुदै यस प्रकारका कार्यादेश सम्पन्न गर्न सीप तथा क्षमतायुक्त दक्ष जनशक्ति आवश्यक रहेको बताउनुभयो।

किर्तिपुर नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्यले सशस्त्र प्रहरी बल, नेपालले प्रर्दशन गरेको पूर्वतयारीको कृतिम अभ्यासले विपद् प्रतिकार्यमा परिचालन हुँदा विपद्बाट हुने क्षतिलाई न्यूनिकरण गर्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडाैंका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम थापा,उपत्यकास्थित सशस्त्र प्रहरी बल, नेपालका गणका गणपति तथा गुल्मपतिहरु,नेपाली सेना र नेपाल प्रहरीका अधिकृतहरु, जिल्ला प्रशासन कार्यालय काठमाडाैंका प्रतिनिधी लगायत अन्य सरोकारवाला निकाय तथा संघ संस्थाहरुका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो।