नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरुको आज पनि बयान लिइने

फाइल तस्वीर

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्तहरुको आज पनि बयान लिइने भएको छ। न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा अभियुक्तहरुको बयान लिइने भएको हो।

उक्त प्रकरणमा शुक्रबार दुई जना र आइतबार तीन जनाको बयान लिइसकेको छ‌। पक्राउ परेकामध्ये १२ जनाको अझै न्यौपानेको इजलासमै बयान हुनेछ।

उक्त प्रकरणमा सरकारी वकिल कार्यालयले ३० जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो। सो प्रकरणमा १७ जना अभियुक्त प्रकाउ परिसकेका छन्। अझै १३ जना अभियुक्त फरार छन।

फरार अभियुक्तविरूद्द पनि अदालतमा मुद्दा दर्ता गरिएको छ। उनीविरुद्ध ठगी,राज्यविरुद्ध कसुर, संगठित अपराध, लिखत किर्ते र एकीकृत कसुरमा मुद्दा दर्ता गरिएको हो।

शरणार्थी प्रकरणमा पक्राउ पर्नेहरुमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाण, नेकपा (एमाले)का निलम्बित सचिव पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव (निलम्वित सचिव)टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाणका स्वकीय नरेन्द्र केसी, सन्दीप रायमाझीसहित गिरोह केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टङ्क गुरुङ, गोविन्द चौधरी, रामशरण केसी र लक्ष्मी महर्जन रहेका छन्।

अदालतमा उक्त प्रकरणका अभियुक्तको बयानपछि थुनछेक बहस हुनेछ। अभियुक्त थुनछेक बहसपछि धरौटीमा थुनामुक्त हुने वा थुनामा पठाउने निर्णय अदालतले गर्नेछ।