पुरानै बाटो हिँडेर नयाँ ठाउँमा पुगिन्न: नेता बाबुराम भट्टराई

फाइल तस्वीर

काठमाडौं। पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसद्मा पेश भएको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट विगतकै निरन्तरता भएको बताएका छन्।

सोमबार राति सामाजिक सञ्जाल ट्विटरमा लेख्दै उनले यस्तो बताएका हुन्। उनले अर्थतन्त्रले ठूलो संरचनात्मक परिवर्तन र क्रमभंगको माग गरिरहेको बताए।उनले लेखेका छन्,नयाँ बजेटमा केही प्रशासनिक र नीतिगत सुधारका कुरा भए पनि मूल दिशा विगतकै निरन्तरतामा छ।

अझै चिन्ताजनक कुरा चाहिँ हाम्रो बजेटको दुईतिहाइ हिस्सा साधारण खर्चमा जान्छ भने बाँकी एकतिहाइमध्ये पनि पुँजीगत खर्च (रू ३ खर्ब २ अर्ब) भन्दा वित्तीय व्यवस्थापन भनिने ऋणको सावाँरब्याज भुक्तानी (रू ३ खर्ब ७ अर्ब) बढी हुन थालेछ।

यो भनेको हाम्रो कमजोर अर्थतन्त्र ऋणपासोमा पनि पर्दैछ भन्ने हो। यसले ठूलो संरचनात्मक परिवर्तन र क्रमभंगको माग गरिरहेछ भन्ने प्रष्टै छैन र रु पुरानै बाटो हिँडेर नयाँ ठाउँमा पुगिन्न भन्ने कहिले बुझ्ने होला।