भूटानी शरणार्थी प्रकरण :आजदेखि अभियुक्तका पक्षबाट कानुन व्यवसायीले बहस गर्ने

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि अभियुक्तहरूतर्फका कानुन व्यवसायीहरूले बहस गर्ने भएका छन्। सरकारी वकिल र जाहेरवालाको तर्फबाट मंगलबार बहस सकिएसँगै अभियुक्तहरूतर्फको आज बहस हुन लागेको हो।

गत आइतबारदेखि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस भइरहेको छ । आजदेखि हुने बहसमा अभियुक्तहरूको बयान लिइएको क्रमका आधारमा हुने छ।

न्यायाधीश न्यौपानेका अनुसार बयान लिँदाको क्रमका आधारमा आज सुरुमा केशव दुलालका कानुन व्यवसायीले बहस गर्ने छन् । त्यसपछि सानु भण्डारीका कानुन व्यवसायीले बहस गर्ने छन्।

न्यायाधीश न्यौपानेले अर्को मंगलबारसम्म अभियुक्तहरूका कानुन व्यवसायीको बहसका लागि समय तोकेका छन् । आगामी बुधबार सरकारी वकिलको तर्फबाट सहन्यायाधिवक्ता अच्युत न्यौपानेले जवाफी बहस गर्ने छन्। सोही दिन बहस सकिए अदालतबाट थुनछेक आदेश हुने छ।

थुनछेक आदेशमा इजलासले अभियुक्तहरूलाई पुर्पक्षका लागि थुनामा राख्ने, धरौटी लिने वा तारेखमा छाड्नेमध्ये एक आदेश गर्ने छ।

नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १८ जनाको थुनछेक भइरहेको हो।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले पक्राउ परेका १८ जनासहित ३० जनालाई सङ्गठित अपराध, कीर्ते, ठगी तथा राज्य विरुद्धको आरोप गरी चार वटा मुद्दा लगाउँदै २७ करोड ५० लाख बिगो माग दाबीसहित जिल्ला अदालत काठमाडौँमा यही जेठ १० गते मुद्दा दायर गरिएको थियो।