भारत भ्रमणबारे ओलीले लगाए प्रचण्डमाथि यस्ता संगिन आरोप

फाइल तस्बिर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीको भारत भ्रमणबारे गम्भीर टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले नेपालका नदीहरुलाई कौडीको भाउमा बेचेर आएको गम्भीर आरोप लगाउदै सीमा विवादबारे बोल्न नसकेकाले भ्रमण उपलब्धिहीन भएको तर्क ओलीको छ।के प्रचण्डको भ्रमणबारे ओलीको यो किसिमको टिप्पणी पूर्णरुपमा ठिक हो त ?

एमाले अध्यक्ष केपी ओलीमाथि महाकाली सन्धि गर्दा नेपाललाई अहित हुने काम गरेको आरोप लाग्ने गरेको छ।महाकाली सन्धिबारे नेपालमा चर्चा धेरै हुने गरेको छ।

समय–समयमा महाकालीको पानीको बारेमा समेत विवाद झिक्ने गरिएको छ। तर, त्यस्तो बेला ओलीले महाकाली सन्धिको बचाउ गरिरहेका हुन्छन्।

उसोतः महाकाली सन्धिकै कारण एमालेमा विभाजन नै आएको तथ्य लुक्न सकेको छैन्। तर भारतले नेपालको संविधानमाथि असन्तुष्टी जनाउदै लगाएको अघोषित नाकाबन्दीका बेला ओलीले भारतको खुलेरै विरोध मात्रै गरेनन्, उनले भारतीय प्रवृत्तिमाथि खरो प्रहार गरिरहे। त्यसपछि ओली एकाएक राष्ट्रवादी नेताको छविमा झुल्किए।

तर, आफू प्रधानमन्त्री भएको बेला भारतीय रअ प्रमुखलाई बालुवाटार बोलाएर मध्यरातमा गोप्य वार्ता गरेको विषय सार्वजनिक भएसँगै फेरि उनीविरुद्धमा विभिन्न टिप्पणी नभएका होइनन्।

यस्ता अवरोहको श्रृङ्खला पार गरेका ओलीले फेरि छिमेक कार्ड फाल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले भारतलाई कौडीको भाउमा नदी बेचेर आएको जिकिर गरेका छन्।

भारतीय कम्पनीले नेपालमा जल विद्युतमा गर्ने भनिएको लगानीबारे प्रश्न उठाएका ओलीले नदी कौडीको भाउमा बेचेको मात्रै आरोप लगाएका छैनन, सीमा विवादबारे समेत गम्भीर प्रश्न ते¥स्याएका छन्।

प्रचण्डको भारत भ्रमणको उपलब्धि १५ वटा राँगा मात्रै भएको भन्दै आलोचना गरिरहेका ओलीले प्रतिपक्षी दलको नेताको हैसियतमा नभई सामान्य नेताको रुपमा टिप्पणी गर्न थालेको आरोप माओवादी नेताहरुले लगाउने गरेका छन्।

अझ माओवादी केन्द्र उपमहासचिव समेत रहेका पूर्वअर्थमन्त्री जनार्दन शर्माले ओलीले सत्ताबाट बाहिरिनुपरेपछि विभिन्न टिप्पणी गर्ने गरेको आरोप नै लगाएका छन्।

ओलीले सस्ता आयोजनाहरु तल्लो अरुण र फुकोट कर्णाली कौडीको भाउमा भारतलाई दिएको टिप्पणी गरेका छन्। तर, नेपाल विद्युत प्राधिकरणमा निर्देशक कुलमान घिसिङले भने यो तथ्यलाई अस्वीकार गर्ने गर्छन्।

कुलमानले अन्तरदेशीय विद्युत व्यापारदेखि परियोजनामा भएका सम्झौताले नेपालको विद्युत क्षेत्रको विकास हुने दाबी गर्छन्।

तर, यो विषयमा ओलीले राखेका धारणा भने अत्यन्तै फरक देखिन्छन्। आफूमाथि लाग्ने गरेको महाकाली सन्धिको आरोपलाई तथ्यहीनको संज्ञा दिने व्यक्तिले यसरी टिप्पणी गर्नु कति स्वस्थ्यकर हुन्छ ? यसले दुई छिमेकीबीचको सम्बन्धमा कस्तो असर पार्न सक्छ रु लगाएतका विषयमा सोच्न भने जरुरी छ।

तथ्य र प्रमाणसहित ओलीले आरोप लगाएको भएमात्रै पनि यो विषय बहस छलफलमा आउने सम्भावना बलियो हुनसक्थ्यो।

तर, आक्रोश पोख्ने नाममा जथाभावी बोल्दा यसले छिमेक सम्बन्धमात्रै नभई सिंगो मुलुकलाई पनि क्षति गर्नसक्ने डर उत्तिकै छ। यद्यपि सरकारले गरेका सम्झौता र विद्युत उत्पादनको विषय भने कार्यान्वयनसम्म कुर्नैपर्नेछ।