बाजुराको साउनेगाउँमा रोपाई भएन,सम्बन्धित निकायले बेलैमा चासो नदिदा स्थानीय मारमा

-सर्पलाल गिरी
बाजुरा। आज साउन १ गते !साउने संक्रान्ति! महिलाले हरियो बस्त्र,चुरा पहिरन गर्ने र लुतो पखाल्ने विशेष दिन। यसै विशेष दिनमा परम्परा काल देखि तत्कालिन जगन्नाथ गाविस वडा नं ९ हाल बुढीनन्दा न.पा.१ साउँनेगाउँमा साउन १ गते नियमित रुपमा रोपाई मेला हुँदै आएको प्रचलनमा यो पटक रोकिएको छ। साउन १ गतेका दिन पुरै जिउलो एकै पटक रोपाई गरिने भएकाले गाउँको नाम साउनेगाउँ रहन गएको हो।

साउन १ गतेका दिन रोपाई मेला लाग्ने, विविध कार्यक्रम, देउडा खेल, रोपाई गीत गाउने, माछा, दहिकेरा, पुरी र तले रोटा खाएर साउँनेगाउँको रोपाई हुँदै आएकोमा यो पटक उक्त रोपाई मेला भएन।

२०७९ सालको साउन, भदौ र असोजमा विभिन्न समयमा आएको अविरल बर्षासैगै आएको बाढीपहिरो र बड्डीगाड खोलाको कटानका कारण करिव ४ सय मिटर सिंचाई कुलो भत्किदा पानीको अभावमा यो पटक रोपाईं हुन सकेन।

यो जिउलामा करिव डेड सय बढी घरवरिवारको करिव ४ सय पाथी जग्गा अहिले बाँझो अवस्थामा छ। वोयो धान वोए पनि सिंचाई कुलोको पानी अभावमा आकाशे पानीको भर पर्नुपर्ने स्थिति छ।

उपभोक्ताहरुले श्रमदान गरेर पानी ल्याउन सकिने अवस्था नभएको र सिंचाई कुलो बनाउन राज्यको कुनै पनि निकाएबाट बजेटको ब्यबस्था हुन सकेन।

प्रत्येक घरपरिवारका उपभोक्ताबाट कुलो मर्मत गर्न जाने प्रचलन थियो। मर्मत गरेर पानी ल्याउने सम्भावना कम भयो। ठूलो बजेट भएमा मात्र यो सिंचाई कुलो बन्ने बुढीनन्दा नगरपालिकाको प्राविधिक शाखाको भनाई छ।

विशेष गरि उक्त सिंचाई कुलो निर्माणका लागि संघीय सांसद बद्री पाण्डे, सुदूर पश्चिम प्रदेश सरकारका अर्थ मन्त्री नरेश शाही र बुढीनन्दा नगरपालिकालाई बारम्बार उक्त कुलाको बारेमा उपभोक्ताहरुले अवगत गराएको स्थानीयबासीको भनाई छ।

बुढीनन्दा नगरपालिकाले उक्त सिंचाई कुलोको प्राविधिक स्टामेट गर्न प्राविधिक प्रमुख अशोक शाही, ओभरसियर सुरत रावत र मोहनराज गिरीलाई पठाएर सिंचाई कुलोको अवस्था बुझ्न फिल्डमा खटाएर प्राविधिक स्टामेट गराएको कुरा नगर प्रमुख जनक कुमार बोहराले बताएका छन।

नगर प्रमुख बोहराका अनुसार प्राविधिक स्टामेट अनुसार नगरको बजेटले बनाउन नसकिने, नगरमा बजेट घटेर आएको, वडालाई २० लाख भन्दा कम रकम विनियोजन गर्न सक्यौं।

१०-२० लाखले उक्त सिंचाई कुलो बन्न नसक्ने र नगरको बजेटबाट सम्भव नभएकाले वडा र नगरबाट सुदूरपशचिम प्रदेश सरकार र संघीय सरकारमा सिफारिस गरि पठाएको भनाई छ।

तत्काल उक्त सिंचाई कुलो मर्मतका लागि सुदूरपश्चिम प्रदेश सरकारका अर्थमन्त्री नरेश शाहीले मौखिक आश्वासनमा रु २६ लाख छुट्याईएको छ भनी आफुहरुलाई भनेको कुरा उपभोक्ताहरु भोटे गिरी, मनवीर गिरी र दयाराम पाण्डेलगायतले बताए। स्थानी उपभोक्ताहरु खुशी भए।

तर अषाढ महिना सकियर साउन १ गते रोपाई हुन सकेन तब आम उपभोक्ताहरुले आफुहरुका लागि राज्य नभएको, तीनवटै स्थानीय, प्रदेश र संघीय सरकारले सौतेनो व्यवहार गरेको र आफुहरुको खाद्य अधिकार माथि सिधै हनन् राज्यले गरेको गुनासो छ।

उक्त सिंचाई कुलाको बारेमा संघ र प्रदेश सरकारबाट सम्बोधन गरिने आश्वासन आए पनि रोपाई हुन नसकेर जिउलो बाजो हुँदा आमउपभोक्ता निराश छन।

उपभोक्ताका तर्फबाट संघीय साँसद र प्रदेश सरकरका अर्थमन्त्रीलाई भेटेर स्थानीय उपभोक्ता मनवीर गिरी, भोटेगिरी, धनलाल गिरी, केशवराज गिरी, बीरबहादुर महतारा, दयाराम पाण्डे र जयलाल वि.क लगाएतले भेटेर उक्त सिंचाई कुलो निर्माणका लागि अवगत गराएर निवेदन गर्दा पनि वेवास्ता हुँदा आफुहरु यो राज्यको गैरनागरिक सरह भएको र राज्यले खाद्य अधिकार माथि सिधै हनन गरि हेपेको आरोप आम उपभोक्ताको छ।

उक्त जिउलाको रोपाई नहुँदा जिउलो बाँझो रहेको विषयमा खाद्य अधिकार संजाल बुढीनन्दाका संयोजक महेश कार्कीले यो गम्भीर विषय भएको, राज्यले हेपेको, नागरिकको बाँच्न पाउने, खान पाउने खाद्य अधिकार माथि सिधै नाङ्गो हस्तक्षेप गरेर वेवास्था गरेको गुनासो छ।

यो विषय आफ्नो संजालले सम्बन्धित माथिल्ला निकायसम्म रिपोर्टिङ गर्ने बताएका छन।खाद्य अधिकारको वकाल गर्दै आएको फियान नेपाल बाजुराकी प्रतिनिध सविता थापाले पनि यो विषउ गम्भिर भएकोले माथिल्लो निकायमा सवाल उठान गर्ने बताएकी छन।