सामाजिक सञ्जालमा नेतृत्वविरूद्ध लेख्नेलाई एकीकृत समाजवादीले कारबाही गर्ने

फाइल तस्वीर

काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेतृत्वविरूद्ध सामाजिक सञ्जालमा लेख्नलाई कडा कारबाही गर्ने भएको छ। आइतबार पार्टी कार्यलय आलोकनगरमा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ,अहिले पार्टी र पार्टी सम्बद्ध जनसंगठनमा आवद्ध कतिपय व्यक्तिले सार्वजनिक सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अनुशासनको सीमा नाघेर बोल्ने र लेख्ने गरेको पाइएकाले त्यस प्रकारले बोल्ने र लेख्ने काम नगर्न यो बैठक निर्देशन गर्दछ। पार्टीका नीति र निर्देशनको अवज्ञा भइरहेमा पार्टी विधान अनुसार कारबाही हुने व्यहोरा स्वतः सिद्ध छ।

त्यस्तै बैठकले मुलुकको तराई क्षेत्रमा सुख्खा खडेरी परी धान रोपाइँ नै हुन नसकेकाले त्यस क्षेत्रलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरी प्रभावित किसानहरूलाई राहत उपलब्ध गराउन सरकारसँग माग गर्ने निर्णय गरेको छ।

साथै, बैठकले मुलुकका विभिन्न भागमा बाढी पहिरो गई जनधनको ठूलो क्षति भएकाले बाढीपहिरोबाट प्रभावित जनतालाई उद्धार र राहत प्रदान गर्न सरकारसँग माग गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

भारत उत्तराखण्डको रुद्रप्रयाग गौरीकुण्डमा गएको पहिरोमा परी बेपत्ता भएका नेपालीहरूको खोजी तथा उद्धार कार्यमा उच्च प्राथमिकता दिन सरकारसँग माग गर्ने पनि बैठकले निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।

साथै, मुलुकभर फैलिएको लम्पी स्किन रोगबाट ठूलो संख्यामा पशुचौपायाको मृत्यु भएर क्षति भोगेका किसानहरूलाई राहत दिन सरकारसँग माग गर्ने निर्णय बैठकले गरेको छ।