पाल्पामा गुडिरहेको जिपमाथि ढुङ्गा खस्दा तीन जना घाइते

काठमाडौं। सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा आज (सोमबार) बिहान गुडिरहेको जिपमाथि ढुङ्गा खस्दा तीन जना घाइते भएका छन् । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु २ च २८४९ नम्बरको जिपलाई ढुङ्गा च्याप्दा तीन जना घाइते भएका हुन्।

घाइते हुनेमा तानसेन नगरपालिका–१४, अर्गलीका ४० वर्षीय दिलीप न्यौपाने, सुद्धोधन गाउँपालिका रुपन्देहीका चालक ३२ वर्ष विवेक कार्की र नवलपुर त्रिवेणीका २४ वर्षीय चन्दन कार्की रहेको प्रहरीले जनाएको छ।

घाइते तीन जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको दोभान प्रहरी चौकीले जनाएको छ।

केही समय अवरुद्ध भएको राजमार्ग ढुंगा फालेर एकतर्फी खुलाइएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।