सुन तस्करी प्रकरण: अनुसन्धान गर्न जिल्ला अदालतले दियो सीआईबीलाई अनुमति

काठमाडौं। काठमाडौं जिल्ला अदालतले संगठित सुन तस्करीको अनुसन्धान गर्नका लागि केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुमति दिएको छ।

राजश्व अनुसन्धान विभागले यसअघि उच्च अदालत पाटनबाट पाएको म्यादलाई सोमबार काठमाडौँ जिल्ला अदालतले मिलान गर्दै सीआईबीलाई २७ गतेसम्मको समय प्रदान गरेको छ।

एक क्विन्टल सुन तस्करी प्रकरणमा सीआईबीले अनुसन्धान सुरु गरिसकेको छ। सीआईबीले एसपी सञ्जयसिंह थापाको कमान्डमा टिम गठन गरेर अनुसन्धान सुरु गरेको हो। ब्युरोका अनुसार राजश्व अनुसन्धान विभागले बुझाएको फाइलका साथसाथै म्यानुअल्ली र प्राविधिक कोणबाट अनुसन्धान सुरु गरिएको छ।

सुन प्रकरणमा हालसम्म १८ जना पक्राउ परेका छन्। ४ साउनमा त्रिभुवन विमानस्थल भन्सार पास गरेर बाहिरिँदै गरेको करिब १ क्विन्टल सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो।

सो प्रकरणमा विभागले अनुसन्धान गर्दै आए पनि प्रधानमन्त्री तहको निर्देशनमा पछिल्लो समय सीआईबीलाई जिम्मा दिइएको हो।