चितवन जिल्ला प्रशासनले भन्यो- ट्राफिक जाम व्यवस्थापन गर्न रास्वपा चाहिँदैन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले राजमार्गको पहिरो र ट्राफिक जामजस्ता घटनाको व्यवस्थापन गर्न सुरक्षा निकायलगायत राज्यका अंग सक्षम रहेको जनाएको छ।

मंगलबार कालीखोलानजिकै लेदो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको थियो । सोक्रममा जाममा परेका सवारी साधनलाई ट्राफिक व्यवस्थापन गर्न भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आर।ए।टी नाम दिइएको एउटा समूह परिचालन गरेको थियो।

रास्वपाले जाम खुलाउन सुन्तला रंगको ज्याकेटमा आर।ए।टी लेखेर वाकीटकी संचारसहितका युवा खटाएप्छि जिल्ला प्रशासन कार्यालयले ध्यानाकर्षण जनाएको हो।

केही दिनअघि मात्र रास्वपाका सभापति एवं सांसद रवि लामिछानेले नारायणगढ–मुग्लिन सडकमा पहिरो जाँदा उद्धार तथा व्यवस्थापनका लागि ¥यापिड एक्सन टिम (आरएटी) निर्माण गर्ने घोषणा गरेका थिए।

उक्त पहिरो सुरक्षा निकाय, सडक डिभिजन कार्यालयसहितका राज्यका अंगबाट भएका स्रोत, साधन र जनशक्ति प्रयोग गरी पन्छाएको र ट्राफिक व्यवस्थापन गरिएको प्रशासन कार्यालयले स्पष्ट पारेको हो ।

जिल्ला प्रसाशन कार्यलयले बुधबार सूचना जारी गर्दै भनेको छ, ‘कुनै अमुक दल तथा सो अन्तर्गतका संगठनको सहयोग नलिइएको, लिन स्वीकृति नदिइएको व्योहोरा यसै सूचनाद्वारा जानकारी गराउँदछौँ। विपद्का यस्ता घटनाको राहत, उद्धार र व्यवस्थापन गर्न सुरक्षा निकायलगायत राज्यका अंगहरू सक्षम छन् ।

प्रशासन कार्यालयले रास्वपाका कार्यकर्ताले प्रयोग गरेको संचारको साधन वाकीटकी स्वीकृति लिइएको र दर्तावाल हो÷होइन छानबिन गर्न प्रहरीलाई निर्देशन समेत दिएको छ।

चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले ठूला विपद्का घटनामा कुनै दल विशेष वा संगठनको परिचयबिना विशुद्ध स्वयंसेवी राहत उद्धारकर्मीकोरुपमा राजनीतिक दल, नागरिक समाजलगायतका आम सर्वसाधारण नागरिकले जिल्ला, स्थानीय विपद् व्यवस्थापन समितिको स्वीकृति लिएर, खटिएका सुरक्षाकर्मीको समन्वयमा उद्धारमा खटिन सक्ने बताए ।