प्रचण्ड नेतृत्वको सरकार इतिहासकै लोकप्रियः उपमहासचिव पुन

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन अनन्तले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको सरकार जनतामा लोकप्रिय भएको दाबी गरेका छन्।

पार्टीको उपत्यका विशेष प्रदेश समिति बैठकमा शनिबार बोल्दै उनले वर्तमान सरकार इतिहासकै सबैभन्दा लोकप्रिय रहेको दाबी गरेका हुन्। सुशासन र शुद्धीकरणको कामलाई अघि बढाएका कारण सरकारलाई जनताले मन पराएको उनको भनाइ थियो।

‘सरकारले सुशासन र शुद्धीकरणको कामलाई अघि बढाएको छ। सुशासनको जगमा समृद्धि हासिल गर्नेतिर सरकारको काम निर्देशित छ, पुनले भने,इतिहासमा पहिलो पटक सरकार पपुलर (लोकप्रिय) भएको छ।

पुनले मुलुकलाई सही नेतृत्व गर्न सक्ने शक्ति आफ्नो दल र अध्यक्ष प्रचण्डमा भएको बताए। सोही क्षमताका कारण प्रतिनिधिसभामा तेस्रो शक्ति भएर पनि प्रचण्डले सरकारको नेतृत्व गरिरहेको बताए। प्रचण्ड माओवादीको मात्र नभइ कांग्रेस र एमालेको समेत नेता भएको दाबी उनको थियो।