संकटमा माधव नेपाल: सिद्धान्त र राजनीतिक कार्यदिशामा अझै अलमल

फाइल तस्वीर

काठमाडौं । माधव नेपालले नेतृत्व गरेकाे नेकपा (एकीकृत समाजवादी) पार्टी सिद्धान्त र राजनीतिक संकटमा परेकाे देखिन थालेकाे छ। जनताको बहुदलीय जनवाद एमालेको मार्ग निर्देशक सिद्धान्त र राजनीतिक कार्यक्रम हो। माक्र्सवाद लेनिनवादलाई पथप्रदर्शक सिद्धान्त ठान्ने एमाले मदन भण्डारीको जबजलाई मूल मन्त्र ठान्छ।

यहि स्कुलिङबाट आएका माधव नेपालले गठन गरेको नेकपा (एकीकृत समाजवादी) पार्टी पनि अन्ततः जबजमै रुमलिएको छ। राजनीतिक कार्यदिशामा अलमलिएको नेकपा एस किन जबजमै फर्कियो त ?

एमाले प्रतिगमनको मतियार र निरङ्कुश बनेको आरोपसहित नयाँ पार्टी गठन गरेका माधव नेपाल राजनीतिक शक्ति क्षयीकरणको चरम बिन्दुमा छन्।

पार्टी विभाजनका बेला अग्रपंक्तिमा रहेकी पार्टी सचिव रामकुमारी झाँक्री हुन् वा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार राई नै किन नहुन्, नेकपा एसमा असन्तुष्टी चर्को छ।

रामकुमारी चुनावपछि निष्क्रिय प्रायः देखिन्छिन्। पार्टीको चर्को आलोचना गरिरहेको भेटिने उनी जस्तै राई पनि मौन विद्रोहमा छन्।

यो असन्तुष्टी सामान्य छैन। नेकपा एसका शीर्ष नेतादेखि सिंगो कमिटी नै एमाले प्रवेशको लहर चलेको छ। पार्टीमा एकपछि अर्को गर्दै नेताहरु एमाले जान थालेपछि त्रसित बनेका माधव नेपाल तनावमा छन्।

एमाले निर्माणमा प्रमुख भूमिका खेल्ने माधव–झलनाथ बीच पनि मिलाप देखिन्न। अझं, जनताको बहुदलीय जनवादको च्याप्टर नै क्लोज भयो भन्ने घनश्याम भुसाल पार्टी महासचिव छन्।

वैचारिक रुपमा प्रखर मानिने भुसालले एमालेको महाधिवेशनको ताका तीन बुँदे फरक मत नै राखे। जबजको च्याप्टर क्लोज भएको भन्दै व्याख्याको आवश्यकता औंल्याएका भुसाल अहिले पनि अध्ययनमै छन्।

महासचिव भुसालले जबजमाथि प्रश्न उठाइरहेका बेला अध्यक्ष माधव नेपालले भने जबजबारे दायाँबायाँ हुनसक्ने गरी राजनीतिक प्रतिवेदन पेश गरेका छन्।

जवजले समाजवादी क्रान्तिको बाटो तय गर्न नसक्ने दाबी गरेका नेपालले नेपालको कम्युनिष्ट पार्टीको रुपान्त्रण, माक्र्सवाद लेनिनवादको उच्चतम् प्रयोगमा भने ठूलो योगदान गरेको उल्लेख गरिएको छ।

भुसालमात्रै नभएर नेकपा एसका सम्मानित नेता झलनाथ खनालले पनि जबजबाट समाजवादी क्रान्ति सम्भव नभएको दाबी गर्दै आएका छन् । तर, नेकपा एसमा जबज छाड्दा शक्ति क्षयीकरणको डर उत्तिकै देखिन्छ।

यसलाई हेर्न वामदेव गौतमको भनाई हेर्नु उपर्युक्त हुने देखिन्छ। नेकपा एकता अभियान भन्दै मझधारको राजनीति गर्ने दाबीसहित हिडेका बामदेवले नेकपा एसले निःशर्त जबज माने आफू त्यहाँ जाने बताएका थिए।

हुनत उनी कहिले एमाले जाने त कहिले नेकपा एसमा जाने कुरा गरिरहन्छन्। निश्चित बाटो तय गर्न नसकेका बामदेवले जबजलाई मुख्य सिद्धान्त मान्न खोजिरहेको घटनालाई हेर्दा पनि नेकपा एसबाट फर्किने अधिकांश नेताहरुले जबजमा फर्किएको दाबी गर्ने गरेका छन्।

नेता नेपालले आखिर समाजवादको यात्रा तय गर्न जबज होइन नयाँ राजनीतिक बाटो तय गर्नुपर्छ भनेर भन्न सकेनन् ?

यसको पछाडि लुकेको कारण भनेकै शक्ति क्षयीकरण नै भएको विश्लेषकहरुले बताउने गरेका छन्। जबजको मार्गमा नेकपा एस फर्किए पार्टी फुटको औचित्यमाथि नै गम्भीर प्रश्न समेत उठ्ने खतरा उत्तिकै छ।

क्रान्तिकारी पार्टी निर्माणको दाबी गरिरहेका माधवलाई पार्टीमा नेता कार्यकर्तामा भइरहेको पलायनले चिन्ता मात्रै बढाएको छैन्, उनी जबज छाड्दा यस्तो भएको पो होकि भन्ने मनस्थितिमा पुगेको देखिन्छन्।

यद्यपी नेकपा एसले कस्तो राजनीतिक प्रतिवेदन पारित गरेर अघि बढ्छ भन्ने विषयले यसबारे धेरै कुरा निक्र्योल गर्ने छ। तर नेकपा एस समाप्तिकाे बाटाेमा गएकाे कतिपएले टिप्पणी गर्न थालेका छन्।