ललितपुर महानगरका मुख्य १२ वटा चोकमा ‘हाइमास्ट लाइट’ जडान

काठमाडौं। ललितपुर महानगरपालिकाका मुख्य–मुख्य १२ वटा चोकहरूमा ‘हाइमास्ट लाइट’ जडान गरिएको छ। ललितपुर महानगरले ‘उज्यालो शहर अभियान’ अन्तर्गत शहरका मुख्य चोकहरुमा ‘हाइमास्ट लाइट’ जडान गरेको हो।

महानगरका अनुसार चालु आर्थिक वर्षमा महानगरभित्रका सडक र गल्लीमा बत्तीहरु राख्ने योजना अनुरुप धमाधम बत्तीहरु राख्ने काम भइरहेको हो ।

आइतबार साँझदेखि पुल्चोक, जावलाखेल, बुङमती, कुपण्डोलस्थित बागमती पुल, शंखपार्क, ठाडोढुंगा चोक, धोबीघाट ढुंगेधारा, गणेशमानपार्क लगायतका स्थानमा बत्ती बल्न थालेको हो।

ललितपुरका अधिकांश सडक र गल्लीहरुमा स्मार्ट स्ट्रिट लाइट र मुख्य चोकहरुमा हाइमास्ट लाइट जडान गरिएको महानगरले जनाएको छ।

यसअघि महानगरले चक्रपथ बाहिरका वडाहरुमा १४ सय बत्ती जडान गरिसकेको छ। ललितपुर महानगरको ‘कोर एरिया’ मा दुइ वर्ष अगाडि नै स्मार्ट सडक बत्ती जडान भइसकेको थियो। महानगरभित्रका तीन वटा रुटमा जम्मा ६६९ वटा स्मार्ट स्ट्रिट लाइट जडान भइसकेका छन्।

बागमती पुलबाट जवालखेल लगनखेल हुँदै सातदोबाटोसम्म, हिमालय होटल (इनार), पाटनढोका, अशोक हल, क्वाल्खु हुँदै मंगलबजार, लगनखेलसम्म, पुल्चोक, मंगलबजार हुँदै ग्वार्कोसम्म सडकबत्ती जडान भइसकेको छ।

स्मार्ट सडक बत्ती जडानका लागि प्राविधिक सहयोग तथा निरीक्षण नेपाल विद्युत प्राधिकरणले गरिरहेको महानगरले जनाएको छ।