आर्थिक मन्दीको असरः दशैं नजिकिएपनि सर्वसाधारणमा छैन् उमंग

सांकेतिक तस्वीर

दशैं नेपालीहरुको महान चाड हो। दशैं आउनेबित्तिकै सबैतिर उमगं र उत्साह छाउँछ। दशैं आउन महिनादिन बाँकी हुँदा नै किनमेल गर्न,घर जान सम्पूर्ण सामानको जोरजाम गर्नेलगायतका कार्य गरिन्थ्यो।

परदेश पुगेका नेपाली पनि दशैं मान्ने घर आउँथे। यता, काठमाडौंमा भएकाहरु पनि घर जाने तयारी गर्थे। सामान खरिद गर्नेहरुको भीड बजारमा एक महिना अगाडिदेखि नै देखिन्थ्यों। जागिर नभएकाहरु दशैं मनाउन महिनादिन अगाडि नै घर जान्थें।

चोकचोकमा झोला बोकेर गाडी कुरिरहेकाहरुको भीड हुन्थ्यो। तर, यसपटकको दशैंमा ठ्याक्कै उल्टो भएको छ। बजार चनमन्न छ,किन ? यतिबेला त व्यापारीहरुलाई भ्याइनभ्याइ हुन्थ्यो।यद्यपि, अहिले त व्यापारीहरु नै निराश छन्।

बजारमा देखिएको आर्थिक मन्दीको सबैभन्दा धेरै मार व्यापारीहरुलाई परेको छ। उनीहरु दशैंमा त व्यापार होला भनेर आश गरेर बसेका थिए। तर, त्यो आश पनि अहिले ‘पानी–पानी’ भएको छ। कसैलाई पनि दशैं नजिकिएजस्तो महसुश नै भएको छैन्।

आर्थिक मन्दीले बजारलाई छपक्कै छापेको अवस्था छ। सर्वसाधारणहरुसँग पैसा नै छैन्, कहाँबाट किनमेल गर्नु ? एकातिर मँहगी ह्वात्तै बढेको छ अर्कोतिर बेरोजगारी। अहिले धेरैसँग रोजगारी छैन्।

रोजगारी भएकाले पनि तलब पाइरहेको अवस्था छैन्। पहिले ज्यामी काम भएनि पाइन्थ्यो। पछिल्लो समय त्यो काम पाउन पनि मुश्किल छ। मँहगीले त सबैको ढाड सेकेको छ। बिहानबेलुका चुल्हो बाल्नसमेत धौं–धौं परेको अवस्था छ। हरेक सामानको मूल्यवृद्धि भएको छ।

सामान्य दालभात खान पनि महाभारत छ। अनि यस्तोमा दशैं मान्ने खर्च कहाँबाट ल्याउनु ? वित्तिय संस्थामा देखिएको समस्याले पनि अधिकांशलाई मर्कामा पारेको छ। सहकारीहरु रातारात भाग्दा बचतकर्ता त चुलुम्मै डुबेका छन्।

खाईनखाई जोरजम्मा गरेको राखेको पैसा लिएर सहकारी सञ्चालन भागेपछि के–को दशैं मनाउनु ? उनीहरु झनै तनावमा छन्। सर्वसाधारणसँग पैसा नभएपछि व्यापारीहरु झिँगा धपाएर बस्नु स्वाभाविकै हो। कतिपय व्यापारी त ‘बोनी’ समेत नभएको गुनासो गर्छन्।

काठमाडौं यस्तो ठाउँ हो, जहाँ खाली सटर पाउन महामुश्किल हुन्छ। सटरकै लागि ‘हारालुछ’ हुन्छ। तर, अहिले त अधिकांश घरमा ‘सटर खाली छ’ भनेर ब्यानर टाँसेको देखिन्छ।

राजधानीका सटरहरु खाली भइसकेका छन्। दिनभरी झिँगा धपाएर बस्नुपर्ने भएपछि को सटर भाडा तिरेर बस्ने ? वास्तवमा भन्ने हो भने सर्वसाधारणसँग घर जाने गाडी भाडासमेत नभएको अवस्था छ। सर्वसाधारणले खाद्यान्न र औषधीबाहेक केही किन्दैनन्।

माछामासु, दही पनि खान छोडिएको छ । चामल र दाल भएपनि गुजारा चल्छ भन्ने मनशायमा उनीहरु पुगेका छन्। हरियो तरकारी छोइनसक्नु छ। खाद्यान्नको हाहाकार अहिले नै देखिन थालिसकेको छ।

चिनी, जिरालगायतका सामग्रीमा भएको मूल्यवृद्धिले सर्वसाधारणको सातो लिएको छ। दशैं नजिकिएसँगै विभिन्न आपराधिक घटना घट्न थालेका छन्। दिँउसै लुटपाट हुन्छ । बाटो हिँड्न पनि डरमर्दो अवस्था छ। बजारमा यस्तै मन्दी देखियो भने दशैंपछि झन् खतरा हुन सक्छ।

चोरीडकैतीले ठूलो रुपमा लिन सक्छ। आम्दानीको स्रोत नभएपछि के गर्ने ? खानु त पर्यो। सरकार जनतालाई रोजगारी दिन सक्दैन्, मँहगीचाँहि बढेको बढ्यै छ। गत पुससम्म चार सय रुपैयाँ किलोग्राममा पाउने जिरा अहिले १३ सय रुपैयाँ किलो पुगेको छ।

एक बोरा चामलले पाँच सय रुपैयाँदेखि हजार रुपैयाँसम्म बढाइएको छ। चिनीको भाउ १४० रुपैयाँ किलो पुगेको छ। खानेतेलमा पनि मूल्यवृद्धि भएको छ। अनि जनताले कसरी पेट पाल्ने ? हरेक खाद्यान्नको मूल्यवृद्धि भएको छ।

सर्वसाधारणसँग काम छैन्। देशमा बसेर खान पनि धौ धौं परेपछि नेपालीहरु धमाधम विदेशिरहेका छन्। एयरपोर्टमा जहिले देश छोड्ने नेपालीको लर्को हुन्छ। नेपालको आधा जनसंख्या त विदेशमा छन्।

मुलुकमै बसेर केही गर्छु भन्नेहरु पनि हरेश खाएर बाहिर जाने सोच बनाउँदै छन्। यस्तो हुँदासम्म सरकार गम्भीर भएको छैन्। सरकारले जनतालाई अभिभावकत्व महसुश गराउनै सकेको छैन्। जनता बाँच्नै नसक्ने अवस्थामा पुगेका छन् तर, सरकारलाई मतलब नै छैन्।

घरधनी भनेर के गर्नु, कोठाबहालमा बस्ने नभएपछि त उनीहरुलाई पनि ईंट्टा टोक्ने कि डण्डी भएको छ। भाडा आउथ्यो र पो मज्जाले बसिबसि खाएका थिए। कोठा र सटर खाली भएपछि त उनीहरुलाई पनि गुजारा गर्न समस्या भएको छ।

दुई वर्षअघि दिनमै लाखौं रुपैयाँको व्यापार गर्ने पसलेहरुलाई हजार रुपैयाँको सामान बेच्न पनि गाह्रो छ। मन्दीले हरेक क्षेत्रमा असर पुर्याएको छ। आर्थिक मन्दी जनताले देखेका छन् तर, सरकारमा बस्नेहरुले देख्दैनन्।

अर्थमन्त्री डा प्रकाशशरण महत आँखा चिम्लेर बसेका छन्। उनलाई केही थाहा छैन्। अर्थतन्त्र चलायमान भइसकेको भनि भाषण ठोक्दै हिँडेका छन् उनी। बजार र जनताको अवस्था नाजुक छ, उनी सब ठिकठाक छ भन्छन्।

उनलाई साँच्नै नै केही थाहा नभएको हो कि थाहा पाएर पनि बुझ पचाएको ? उनले देशको अर्थतन्त्र भन्दा पनि आफ्नो पद जोगाउने कोसिश गरिरहेका छन्। बजार चलायमान गर्न सरकारले विभिन्न कोसिश गरेको छ। तर, कुनै फरक परेको छैन्।

अर्थतन्त्र डामाडोल अवस्थामा छ। राज्यको ढुकुटीमा राजश्व उठ््न छोडिसकेको छ। अर्थजस्तो संवेदनशील मन्त्रालयमा बसेर हावादारीको भरमा बोलेर हुन्छ ? अर्थमन्त्रीसँग भिजन केही छैन्। जनतालाई ‘मर्नु न बाँच्नु’ भएको छ।

अर्थमन्त्रीलाई कुनै चासो नै छैन्। अर्थतन्त्रलाई पहिलेकै रफ्तारमा ल्याउन अर्थमन्त्री महतसँग कुनै योजना छ ? छैन्। सरकारी खर्च बढेको बढ्यै छ। सरकार सरकारी कर्मचारीकै वरिपरि घुमिरहेको छ। राजश्व उठेको छैन्, सरकारी कर्मचारीको सेवासुविधा कटौती गर्नुपर्दैन् ?

जनताले तिरेको कर सरकारी कर्मचारीको सेवासुविधा पूर्ति गर्नै पुग्दैन्। विकासका काम सरकारले के गर्थ्यों ? जनप्रतिनिधि, सांसद, मन्त्री, भूपू मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति, सरकारी कर्मचारी सबै मिलेर राज्यको ढुकुटी दोहन गरिरहेका छन्।

काम नै नगरिकन बसिबसि सेवासुविधा पाउने सिस्टम नेपालमा मात्रै होला। फेरि सरकारमा बसेकाहरुलाई हीनताबोध पनि नहुँदो रहेछ। यिनीहरुलाई यत्तिकै तलबभत्ता र सरकारी सेवासुविधा लिन लाज लाग्दैन् ?

जनता खान नपाएर पेटमा पटुकी कसेर हिँडेका छन्। सरकारमा बसेकाहरु देशको ढुकुटीले नपुगेर विदेशीसँग हात फैलाउँछन्। यिनीहरु कहिले सुध्रिदैनन् भन्ने त सबैलाई थाहा छ।

देशको प्रधानमन्त्री,मन्त्री,जनप्रतिनिधि,सांसद,सरकारी कर्मचारी देख्दा जनताहरुको मुटु भतभती पोल्छ। जनता खाइनखाइ कर तिर्छन्, त्यसको सदुपयोग नहुँदा कति रिस उठ्छ ? देश नै माफियाहरुले चलाएका छन् अनि जनताले कहाँबाट सुविधा पाउँछन् ? यस्तै पारा रह्यो भने देश झन् जटिल अवस्थामा पुग्छ।

खाद्यान्नकै हाहाकार हुन्छ। यहाँ भोकमरी लाग्छ। कमाइ नभएपछि सबै चोरडकैतीतिर लाग्छन्। त्यसैले अबचाँहि सरकारमा बस्नेहरु ‘एक्सन’ मा जानुपर्यो। सरकारी कर्मचारी, जनप्रतिनिधि, सांसदहरु पनि जिम्मेवार भइदिनुपर्यो।

देश जटिल अवस्थामा छ तर, कोही तलबभत्ता, सरकारी सेवासुविधा चाँहिन्न भन्न तयार छैनन्। सरकारले अब आफैं उनीहरुको सेवासुविधा कटौती गरिदिनुपर्यो। त्यस्तै, जनताले घरघरमा लुकाएर राखेका पैसा पनि बाहिर ःल्याउनुपर्छ।

त्यसका लागि सरकारले पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाउने निर्णय गर्नुपर्छ। यो भयो भने अहिले दराजमा लुकाइएका पैसा बाहिर आउँछन्।

देशको अर्थमन्त्री महत र राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको काम गर्ने क्षमता सबैले देखिसकेका छन्। यिनीहरुलाई हटाएर सक्षम व्यक्तिलाई ल्याउनुपर्छ। प्रधानमन्त्री पुष्पकमल दाहालले यिनीहरुको मुख हेर्ने कि देश बचाउने ?