तिहार बिदामा पनि सर्वोच्च अदालत खुला रहने

काठमाडौं। नेपालीहरुको दोस्रो ठूलो चार्ड तिहार (दीपावली) बिदामा पनि सर्वोच्चले अत्यावश्यक सेवा दिने भएको छ। बन्दी प्रत्यक्षीकरण, निवेदन दर्ता लगायतका कामका लागि सर्वोच्च अदालत तिहार बिदामा समेत खुला रहने भएको हो।

सर्वोच्च अदालतले कात्तिक २६ गते आइतबार देखि बिहीबारसम्मका लागि न्यायाधीशहरुलाई जिम्मेवारी तोकिएको छ।

सर्वोच्च अदालतका अनुसार कात्तिक २६ गते आइतबार न्यायाधीश प्रकाशमान सिंह राउत, कात्तिक २७ गते सोमबार न्यायाधीश सपना प्रधान मल्ल, कात्तिक २८ गते न्यायाधीश हरिप्रसाद फुयाँल र कात्तिक ३० गते बिहीबार न्यायाधीश कुमार रेग्मीलाई जिम्मेवारी तोकिएको छ।

कात्तिक २९ गते भाइटीकाको दिन भने अदालत बन्द रहनेछ। सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणका लागि बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म इजलास रहनेछ।

बन्दी प्रत्यक्षीकरण लगायतका रिट दर्ता गर्नका लागि भने कर्मचारीहरु बिहान १० बजे नै अदालतमा उपस्थित हुने जानकारी दिइएको छ।