राष्ट्रपतिको निष्पक्षता देखिएन, कांग्रेस भएर जाजरकोट जानुभयो :अध्यक्ष ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेल निष्पक्ष हुन नसकेको आरोप लगाएका छन्।पार्टीको जनसंगठन समन्वय संयन्त्रले शनिबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले अहिले पनि राष्ट्रपतिले कांग्रेसको प्रतिनिधि भएर काम गरेको आरोप लगाएका हुन्।

भूकम्पपछि प्रधानमन्त्री र गृहमन्त्री माओवादीको प्रतिनिधिको रुपमा जाजरकोट पुगेको भन्दै ओलीले राष्ट्रपति पौडेल पनि जाजरकोटमा कांग्रेस छुट्यो भनेर आफैं गएको टिप्पणी गरे।

‘राष्ट्रपति किन जानुभएको रु कति मान्छे मरे भन्ने कुरा उहाँले सुन्नुभएको थियो । टेलिभिजन हेर्नु नै भएको थियो । कति घर भत्कियो भनेर सुन्नुभएकै थियो। कति के भयो भन्ने सुन्नुभएकै थियो।

त्यो भन्दा अगाडि नै खबर आइसकेको थियो–नेताहरुको भिडले, नेताहरुको चाकडीमा सेना, प्रहरी खटनुपर्दा त्यहाँ उद्धार गर्न पाईएन भन्ने आएकै थियो। उहाँहरु अस्पतालमा बिरामी हेर्न जाने नाममा अस्पतालका सम्पूर्ण डाक्टरहरु उहाँहरुलाई ब्रिफ्रिङ गर्न आउनुपर्ने।

बिरामीको उपचार छोडेर आउनुपर्ने भन्ने कुरा थाहा नै थियो। अनि, माओवादी गए भनेर कांग्रेस भएर किन जानुपर्‍यो राष्ट्रपतिज्यू रु उहाँ राष्ट्रपति भएर त्यहाँ जानुभएन । त्यहाँ कांग्रेस छुट्यो भनेर जानुभयो’, ओलीले भने।

राष्ट्रपति निर्वाचित भएको एक वर्ष नपुग्दै राष्ट्रपतिले पक्षधरता देखाएको भन्दै ओलीले तनहुँमा दिएको अभिव्यक्तिले पनि कांग्रेसप्रति नरम देखिएको दाबी गरे।

‘राष्ट्रपतिज्यूले तनहुँमा गएर घण्टीको यत्रा बिगबिगी भएको बेला कांग्रेसलाई भोट दिएकोमा मतदातालाई म धन्यवाद दिन्छु भन्ने भाषा बोल्नुभयो। काँग्रेसलाई भोट दिएकोमा, रुखमा भोट हालेकोमा उहाँले धन्यवाद दिनुभयो। कति निष्पक्ष राष्ट्रपति होला।

उहाँको निष्पक्षताको त कुरे नगरौं। उहाँको सम्बन्धमा थुप्रै कुराहरु आइसकेका छन्। एक वर्ष पुग्नुभन्दा अगाडिनै राष्ट्रपतिले आफ्नो क्रियाकलापहरु देखाइसक्नुभएको छ। अलोकतान्त्रिकता, पक्षपातपूर्ण, उहाँलाई संविधानको मतलब छैन’, उनले भने।अध्यक्ष ओलीले राष्ट्रपति संविधान अनुसार चल्नुपर्ने बताए।