विश्वकप छनोट: यमनविरूद्ध अंकका लागि खेल्ने नेपालको लक्ष्य

काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको दोस्रो चरणमा नेपालले समूह ‘एच’ को दोस्रो खेलमा भोलि साँझ यमनसँग प्रतिस्पर्धा गर्दैछ।

दुवै टिमले पहिलो खेलमा प्रतिस्पर्धा गर्दा हार बेहोरेका थिए। अघिल्लो साता नेपालमाथि युएईले ४-० को जित निकाल्दा यमनले बहराइनसँग २-० को हार बेहोरेको थियो।

भोलि साँझ ७ बजे दशरथ रंगशालामा हुने खेलमा अंकका लागि खेल्ने नेपालका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले बताएका छन्।

अर्को चरण प्रवेशका लागि भोलिको खेल महत्वपूर्ण हुने उनको भनाइ छ।फिफा वरीयतामा यमन १५६औं स्थानमा रहदा नेपाल १७३औं स्थानमा छ।

नेपालमा हुने खेलका लागि सिंगापुरस्थित स्पोर्ट्स फाइभलाई कमर्सियल र मिडिया राइट्स प्रदान गरिएको अखिल नेपाल फुटबल संघले जनाएको छ।

यमनविरूद्ध दशरथ रंगशालामा खेल हेर्नका लागि साधारण प्यारपिटको ४ सय र भिआइपीको एक हजार टिकट मूल्य तोकिएको छ।

दोस्रो चरणका खेलहरू होम एन्ड अवेका आधारमा हुनेछन्। नेपालले तीनै टिमसँग होम एन्ड अवे गरी २-२ खेल गरी ६ खेल खेल्नेछ। दोस्रो चरणको छनोटको अन्तिम खेल ६ जुनमा हुनेछ।

चार टिममध्ये शीर्ष दुई टिम एसिया कपमा छनोट हुनेछन् भने विश्वकपको तेस्रो चरणका लागि छानिनेछन्। पुछारका दुई टिमको विश्वकप छनोट यात्रा सकिदा एसिया कपको तेस्रो चरणमा स्थान बन्नेछ।