नक्कली भुटानी शरणार्थी प्रकरण: आज आदेश आउने सम्भावना

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज उच्च अदालत पाटनबाट आदेश आउने सम्भावना रहेको छ।

काठमाडौं जिल्ला अदालतले दिएको थुनछेक आदेशविरुद्धको पुनरावलोकन निवेदनमाथिको सुनुवाइ सकिएकाले आज आदेश आउने सम्भावना रहेको हो। उच्च अदालत पाटनमा गत हप्तादेखि न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासमा भएको सुनुवाइमा बिहीबार सबै पक्षको बहस सकिएको हो।

मंगलबार प्रतिवादी तर्फका वकिलको बहस सकिएको थियो भने बुधबार र बिहीबार खाजा समयअघि सरकारी वकिलको बहस भएको थियो। बिहीबार खाजा समयपछि प्रतिवादीका वकिलले जवाफी बहस गरेसँगै सुनुवाइ सकिएको पाटन उच्च अदालतका सहरजिष्ट्रार तीर्थराज भट्टराईले जानकारी दिए। न्यायाधीशद्वयको इजलासमा उक्त मुद्दा हेर्दा हेर्दैमा राखिएको छ। सम्भवतः शुक्रबार आदेश आउने भट्टराईको भनाइ छ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन नेपाल सरकारका मन्त्री र उच्च सरकारी अधिकारी समेत संलग्न भएको भन्दै पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण तथा तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा चलेको थियो।

उक्त मुद्दामा गत असार १ गते काठमाडौं जिल्ला अदालतले दुई जनाबाहेक सबै अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। थुनामा परेकाहरूले थुनछेक आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन गरेका हुन्।