काठमाडौं उपत्यकामा तीन हजार बढी सिसी क्यामरा जडान

काठमाडौं ।काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दीपक थापाले काठमाडौँ उपत्यका भित्रको अपराध नियन्त्रणका लागि सिसी क्यामरा जडानलाई प्राथमिकतामा राखिएको बताए।

टोखा नगरपालिका–९ नयाँबसपार्क क्षेत्रमा बन्न लागेको सामुदायिक सेवा केन्द्र र प्रहरी प्रभाग गोँगबुको भवनको आज शिलान्यास गर्दै उहाँले समाजभित्र देखिने विकृति, विसङ्गति अन्त्यका लागि प्रहरीले विभिन्न स्थानीय तहको सहकार्यमा सिसी क्यामरा जडानको कामलाई प्राथमिकतामा राखेको बताए।

काठमाडौँ र ललितपपुर महानगरपालिका एवं बूढानीलकण्ठ नगरपालिकासँग मिलेर सिसी क्यामरा जडानको कामलाई उच्च प्राथमिकता दिएका छौँ। टोखा नगरपालिकासँग पनि सहकार्य गरेर बसपार्क क्षेत्रको अपराध न्यूनीकरण गर्न सकिन्छ, उनले भने।

एआइजी थापाले हालसम्म काठमाडौँ उपत्यकाभित्र तीन हजार चार सय ८५ सिसी क्यामरा जडान भएको बताए। उनले काठमाडौँ महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाको सहकार्यमा थप पाँच सय सिसी क्यामरा जडान गरी तीन हजार नौ सय ५६ सिसी क्यामरा जडानको कामलाई अगाडि बढाइएको उल्लेख गरे।

उनले नयाँबसपार्क क्षेत्र वरपर हुने विकृति, विसङ्गति अन्त्यका लागि प्रहरी सधैँ तत्पर रहेको बताए। रासस