प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदै

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) को वार्षिक कार्यक्रमअन्तर्गत प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता हुन लागेको हो । टी–२० ढाँचामा हुने खेलको व्यवस्थापन नेपाल क्रिकेट संघ ९क्यान०ले गरेको छ।

१४ दिनसम्म चल्ने प्रतियोगितामा ७ प्रदेश र विभागीय टोली एपीएफसहित ८ टोली सहभागी छन्। खेलहरु कीर्तिपुर र मूलपानी मैदानमा हुनेछन्।

आज पहिलो दिन चार खेल हुँदैछन्। बागमती र मधेश प्रदेशबीच टीयू मैदानमा उद्घाटन खेल हुनेछ। खेल बिहान साढे ९ बजे सुरु हुनेछ । सोही समयमा एपीएफ र सुदूरपश्चिमबीच मुलपानी मेदानमा खेल हुनेछ।

यस्तै गण्डकी र लुम्बिनीबीच त्रिवि मैदानमा दिउँसो सवा १ बजे खेल हुनेछ भने सोही समयमा कर्णाली प्रदेश र कोशी प्रदेशबीच मूलपानी मैदानमा खेल हुनेछ।

प्रतियोगिता पहिलो पटक सिंगल राउन्ड रोबिनका आधारमा सञ्चालन हुनेछ। राउन्ड रोबिनपछि प्लेअफ, इलिमिनेटर र फाइनल खेल हुनेछन्।

क्यानका सचिव पारस खड्काले पहिलो पटक राउण्ड रोविन लिगमा प्रतियोगिता गर्न लागेकाले हरेक टिमले धेरै खेल खेल्न पाउने र यसले महिला क्रिकेटरका लागि पनि अवसर प्रदान गर्ने बताए।

सहभागी टिमका कप्तानहरुले राउण्ड रोविनका आधारमा खेल हुँदा धेरै खेल खेल्न पाइने र नयाँ खेलाडीको लागि पनि प्रतिभा देखाउने अवसर हुने बताए।

अघिल्ला संस्करणमा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरेर लिग कम नकआउटका आधारमा खेलाइँदै आएको थियो। यसपटक एउटा टोलीले कम्तीमा ७ खेल खेल्ने छ। लिग चरणमा सहभागी हरेक टोलीले एक अर्कासँग खेल्नेछ।

लिग चरणपछि अंक तालिकामा शीर्ष चारमा रहने टोली प्लेअफ पुग्नेछन्। जसमा शीर्ष दुईमा रहने टोलीले पहिलो क्वालिफायर खेल्नेछन्। विजेता टोली सिधै फाइनल पुग्नेछ।

यस्तै तेस्रो र चौथो हुने एलिमिनेटर खेल्नेछ। यसमा विजयी हुने टोलीले पहिलो क्वालिफायरमा पराजित हुनेसँग दोस्रो क्वालिफायर खेल्नेछ। एलिमिनेटरको पराजित टोली बाहिरिनेछ।

पहिलो र दोस्रो क्वालिफायर विजेताले फाइनल खेल्नेछन्।