जाजरकोटमा चिसोका कारण भूकम्पपीडित सुत्केरीको मृत्यु

सुर्खेत। जाजरकोटको कुशे गाउँपालिकामा एकजना सुत्केरी महिलाको चिसोका कारण मृत्यु भएको छ। मृत्यु हुनेमा वडा नम्बर–९, को घर्तीगाउँकी २४ वर्षीया कल्पना नेपाली रहेकी छन्। उनको बुधवार बिहान मृत्यु भएको हो।

कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले उनको चिसोकै कारण मृत्यु भएको जानकारी दिए। उनले मङ्सिर १७ गते दुई छोरालाई जन्माएकी थिइन्। कात्तिक १७ गतेको भूकम्पपछि उनीसँगै सासू र श्रीमान् त्रिपालमा बस्दै आएकी थिए।

‘बिरामी अरू खासै केही थिएन, चिसोकै कारणले हो,’परिवारको भनाई उद्धृत गर्दै अध्यक्ष बस्नेतले भने,त्रिपालमा बसिरहेका थिए, मैले प्रहरी,स्वास्थ्य चौकी सबैलाई स्वयम् मैले नै बुझेको हुँ।

उनका अनुसार कल्पनाले मङ्सिर १७ गते जुम्ल्याहा दुई वटा बच्चा जन्माएकी थिइन्। कार्तिक १७ गते गएको भूकम्पले कल्पनाको घरमा क्षति पुर्‍याएको थियो।

अध्यक्ष बस्नेतका अनुसार त्रिपालमुनि अहिलेसम्म ६ जनाले ज्यान गुमाइसकेको बताए। कोही दीर्घ रोगी, कोही क्यान्सर सम्बन्धीका बिरामीहरूको गरी चिसोका कारण ६ जनाको मृत्यु भयो, उनले भने,हामीले चिसोबाट जोगाउनका लागि अस्थायी आवास बनाउने नै हो। त्यो काम भइरहेको छ। अहिलेसम्म डेढ सय जति अस्थायी आवास बनाएका छौं।