राखेपको प्रस्ताव:मन्त्री क्वार्टर खेलाडीका लागि आवास बनाउ

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपले पुल्चोकको हरिहर भवनमा रहेको मन्त्री क्वार्टरलाई खेलाडी आवासका लागि प्रयोग गर्न प्रस्ताव गरेको छ ।

राखेप कार्यकारी समितिका संयोजक राखेपका सदस्य–सचिव टंकलाल घिसिडको अध्यक्षतामा बसेको बैठकले खेलाडीको प्रशिक्षणलाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित अहिलेको मन्त्री निवासलाई खेलाडी आवासमा रुपान्तरण गर्ने प्रस्ताव गरेको हो।

मन्त्रीहरुका लागि ललितपुरकै भैंसेपाटीमा सुविधा सम्पन्न आवास निर्माण भइरहेको छ । त्यो निर्माण पूरा भएपछि मन्त्रीहरु भैंसेपाटीको आवासमा बस्ने भएकाले हरिहर भवनको आवास खाली हुने छ ।

त्यो खाली हुने निवासलाई खेलाडी आवासका लागि प्रयोग गर्नका लागि मन्त्रालयमा प्रस्ताव गरेको राखेपले जनाएको छ। पुल्चोकको मन्त्री निवासमा १७ वटा भवन छन्।

सरकारले भने यसअघि नै पुल्चोकको मन्त्री निवास न्यायाधीस निवास बनाउने निर्णय गरिसकेको छ। गत साउनमै तत्कालीन प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले मन्त्रिपरिषदबाट भएको यससम्बन्धी निर्णयको पत्र आफूहरुले पाएको भन्दै अब सर्वोच्च अदालतका न्यायाधीशहरुले सामूहिक आवास पाउने बताएका थिए।