पोर्चुगल पठाइ दिने भन्दै १० लाख ठगी गर्ने एक महिला पक्राउ

काठमाडौं। पोर्चुगल पठाइ दिने भन्दै झण्डै १० लाख ठगी गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ घर भई हाल काठमाडौं टोखा नगरपालिका–११ मनमैजु बस्ने २२ वर्षीय रचना थापालाई पक्राउ गरेको हो।

उनले रामचन्द्र कार्कीलाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाउन प्रतिव्यक्ति १२ लाख रुपैयाँ लाग्ने र पोर्चुगल पुगेपछि प्रतिष्ठित होटलमा काम लगाएर मासिक एक लाख ३० हजार रुपैयाँ तलब हुने प्रलोभनमा पारेर ठगी गरेको आरोप छ।

पीडितबाट पटक–पटक गरी ९ लाख ९० हजार रुपैयाँ लिई सम्पर्कविहीन भई ठगी गरेको उजुरीका आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ।

उनलाई काठमाण्डुको टोखा नगरपालिका–११ मनमैजुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए।