नारायणहिटीबाट गणतन्त्र स्मारक हटाउने माधव नेपालको प्रस्ताव

फाइल तस्वीर

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नारायणहिटी दरबार संग्रहालय परिसरमा रहेको गणतन्त्र स्मारक हटाउनुपर्ने बताएका छन्।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबारको बैठकमा नेपालले नारायणहिटीमा नेपालको इतिहासदेखि राजतन्त्रको अन्त्यसम्मका सामग्री र विषयवस्तु राख्नुपर्ने बताएका हुन्। त्यसले नारायणहिटी नेपालमा शासन गर्ने गोपालवंशी, महिसपाल, सेन वंशी, मल्ल वंशी, राणा, शाहबारे अध्ययन गर्ने स्थल हुने उनले बताए।

नेता नेपालले भने,संसारमा नेपालको इतिहास अध्ययन गर्नेहरुका लागि पनि एकै ठाउँमा उनीहरुले हेरेर ठूलाठूला थेसिस लेख्न र तयार गर्न सक्छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले गणतन्त्र संग्राहलय वा स्मारक छुट्टै बनाउनुपर्ने बताए। ‘छुट्टै म्युजियम बनाउनुपर्छ। लखन थापा मगरदेखि अहिलेसम्मका जनताको लडाईं,संघर्ष,त्याग,तपस्या बलिदान सबैका गाथाहरु लेख्नुपर्छ। संविधान निर्माणका इतिहास लेखौँ’ उनले भने,त्यो मान्छेहरु हेर्न चाहन्छन्।