सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

झापा । झापाको बिर्तामोड नगरपालिका–२ स्थित चारपाने चोकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार दुर्घटनामा परी मोटर साइकल चालक कन्काई नगरपालिका–८ का ४४ वर्षीय तोयानाथ उप्रेतीको मृत्यु भएको छ । शनिबार साँझ भएको दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन् । साँझ ६ बजे पिकनिक गएर इलामबाट फर्कँदै गरेको धरान–विराटनगर चल्ने नागरिक यातायातको प्र–०२–००२ ख ९०१४९ नम्बरको बससँग मे १ प ७२४८ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

पश्चिमतर्फ जाँदै गरेको सो बसलाई तीन जना सवार मोटरसाइकलले ओभरटेक गर्न खोज्दा बसको अगाडि भागमा ठोक्किएको थियो । घाइते भएका उप्रेतीलाई उपचारका लागि बिर्तासिटी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।

मोटरसाइकलमा सवार अन्य दुई जना गम्भीर घाइते छन्। दुर्घटनामा परी कन्काई नगरपालिका–५ का ५९ वर्षीय रविरत्न सिटौला र बाह्रदशी–७ का सागर माझी घाइते भएका छन्।