मोटरसाइकल दुर्घटना हुँदा २ को मृत्यु, २ घाइते

जनकपुरधाम। महोत्तरीको औरहीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ। अन्य दुईजना गम्भीर घाइते भएका छन्।

महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीका अनुसार बर्दिबास–औरही सडक खण्डको औरही नगरपालिका–१ वडा कार्यालय नजिक सोमबार राति ९ बजे प्रदेश २–०२–००४ प १८४० र ज ११ प ८०९९ नम्बरका मोटरसाइकल ठोक्किएका थिए। दुर्घटनामा दुवै मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका थली विर्ताका ३० वर्षीय मुकेश चमार र भंगहा नगरपालिका–३ का ३२ वर्षीय धर्मेन्द्र महतोको मृत्यु भएको डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए। दुर्घटनामा गम्भीर घाइते दुबैजनालाई बर्दिबासको शुभस्वस्तिक अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको डिएसपी गिरीले बताए।

दुर्घटनामा भंगहा नगरपालिका–५ विर्ता पलारका ३१ वर्षीय विरेन्द्र गोसाई र बर्दिबास नगरपालिका प्रेमनगरका २६ वर्षीय प्रदीपकुमार यादव घाइते भएका छन्। उनीहरुको उपचार जारी छ।