प्रधानमन्त्री कप: सुदूरपश्चिमको दोस्रो जित

बुटवल। तीन खेलाडीको अर्धशतकको सहयोगमा सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ।

त्यसक्रममा सुदूरपश्चिमले आज भैरहवामा भएको खेलमा कर्णाली प्रदेशलाई १ सय ४३ रनको फराकिलो अन्तरले पराजित गरेको छ । कर्णालीको यो पहिलो हार हो।

भैरहवास्थित सिद्धार्थ रंगशाला मंगलबार टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ७७ रन बनाएको थियो। उसका लागि ओपनर खडक बोहराले सर्वाधिक ८० रनको पारी खेले। १ सय १४ बलको सामना गरेका उनले ६ चौका प्रहार गरेका थिए।

यस्तै, अर्का ओपनर टेक रावतले ९१ बलमा ७ चौकासहित ५९ रन जोड्न सफल भए। सुदूरपश्चिमको सानदार इनिङ्समा पहिलो विकेटका लागि खडक र टेकले २८ ओभरमा १ सय ३८ रनको शतकीय साझेदारी गरेका थिए।

उनीहरुले प्रधानमन्त्री कप क्रिकेट इतिहासकै ओपनरको रुपमा सर्वाधिक साझेदारी गर्ने कीर्तिमान समेत कायम गरे । यसअघि २०१९ मा आर्मीका राजु रिजाल र हरिकृष्ण झाले कर्णालीविरुद्ध १ सय ३२ रनको ओपनिङ साझेदारीको कीर्तिमान बनाएका थिए ।

सुदूरपश्चिमका नारायण जोशी र किरण ठगुन्नाले तल्लोक्रममा विष्फोटक पारी खेले । किरणले ३३ बलमा ५ चौका र २ छक्कासहित ५० रन जोडे भने जोशीले १२ बलमा १ चौका र ३ छक्कासहित ३१ रन बनाए । राजु रिजालले १९ र नरेश भट्टले १५ रनमा बनाए ।

कर्णालीका दीनेश अधिकारी, युनिस सिंह, प्रकाश जैशी र दीपेन्द्र रावतले समान १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको कर्णाली ३७।२ ओभरमा अलआउट हुँदै १४३ रनमै अल आउट भयो । उसलाई सस्तैमा रोक्न सुदूरपश्चिमका शेर मल्लले १० ओभर बलिङ गर्दै ३५ रन खर्चेर ४ विकेट लिए । विकाश आगरीले २, नारायण जोशी, भोजराज भट्ट र नरेन भट्टले समान १–१ विकेट लिए ।

कर्णालीका दिवान पुनले ३८, अर्जुन घर्तीले २४, दिनेश अधिकारीले २० र हिमान्शु शाहीले १७ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। सुदूरपश्चिमका खडक बोहरा प्लेयर अफ द म्याच भए।