मेलम्चीको पानीमा सिंहदरबारको राजनीति,कहिले-कहिले गरियो त उद्घाटन ?

फाइल तस्वीर

काठमाडौं। काठमाडौंमा मेलम्ची खानेपानीको तेस्रो पटक वितरण थालिएको छ। निकै तामझामका साथ पटक पटक उद्घाटन गरी वितरण थालिएको मेलम्चीको पानी पुनः सोमवार प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरे।

२०७७ चैत्रमा पहिलो पटक वितरण थालिएको मेलम्चीको पानी सोमवारदेखि तेस्रो पटक पुनः वितरण थालिएको छ। जसको औपचारिक उद्घाटन भने पाँच पटक भइसकेको छ।

मेलम्चीको पानी काठमाडौंमा ल्याउने सपना नेपाली कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराईले देखेका थिए। त्यतिबेला मेलम्चीको पानी काठमाडौं ल्याउने अभिब्यक्ति दिँदा भट्टराईमाथि राजनीतिक दलकै नेताहरुले समेत व्यङ्ग्य गरेका थिए।

तर भट्टराईले त्यतिबेला देखेको सपना भने झण्डै ३० वर्षपछि २०७७ सालमा पूरा भयो। मेलम्चीको पानी पहिलो पटक काठमाडौं झर्ने भएपछि तत्कालिन केपी ओली सरकारको तामझाम अर्कै देखिन्थ्यो।

जतिबेला तत्कालिन प्रधानमन्त्री ओलीबाट मात्रै होइन, पूर्व राष्ट्रपतिबाट समेत फरक फरक समयमा औचारिक उद्घाटन गरिएको थियो। तर पानीको मुहानै समस्या भएपछि पानी निरन्तर प्रवाह हुन सकेन।

त्यसपछि जति पटक मर्मत गरेर पानी ल्याइन्छ,त्यति नै पटक उद्घाटन भइरहे। त्यसको निरन्तरता वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले समेत दिएका छन्।

कहिले कहिले गरियो त मेलम्ची खानेपानीको उद्घाटन  

पहिलो उद्घाटन– २०७७ फागुन २२ गते– तत्कालीन प्रधानमन्त्री केपी ओलीले सुन्दरीजलस्थित ट्रिटमेन्ट प्लान्टको फ्लसिङ टनेलको हाइड्रोमेकानिकलको बटम थिचेर पानी खसाले।

दोस्रो उद्घाटन– २०७७ चैत्र २० गते– तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा बनाएको धारामा पानी खोलेर उद्घाटन गरिन् ।

२०७८ असार– मेलम्ची खोलामा बाढीले मुहान बन्द भएपछि खानेपानीको वितरण रोकियो।

तेस्रो उद्घाटन–२०७९ बैशाख ११ गते– तत्कालीन खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्ची खानेपानी आयोजनाको अस्थायी रुपमा पुनःवितरण हुने भन्दै उद्घाटन गरे ।

२०७८ जेठ १८ गते – बर्खा लागेसँगै सम्भावित क्षतिलाई न्यूनिकरण गर्न सुरुङ बन्द गरियो।

चौथो उद्घाटन– २०७९ मंसिर २३ गते– तत्कालीन खानेपानी मन्त्री उमाकान्त चौधरीले नै मेलम्चीको पानी वितरणको पुनः उद्घाटन गरे।

२०८० असारमा– बाढीको भयले मेलम्चीको सुरुङ बन्द भयो।

२०८० साउन– मेलम्ची खोलामा आएको बाढी र गेग्रानले फेरि मुहान पुरियो।

पाँचौ उद्घाटन–२०८० माघ १ गते– प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा मेलम्चीको पानी वितरणको पुनः उद्घाटन।

मेलम्चीको पानी पहिलोपटक काठमाडौँ आएको ऐतिहासिक अवसर पनि होइन, यो दीर्घकालका लागि आएको पनि होइन, तर प्रधानमन्त्री आफैँ यसको उद्घाटन गर्न किन कस्सिए त ? जबकी बर्खा लागेपछि फेरि बन्द भइहाल्ने पानी उद्घाटनका लागि यो व्यर्थको तामझाम गर्नु पर्ने नै थिएन।

मेलम्ची खानेपानी आयोजनाले नै मुहानको दीर्घकालिन समस्या समाधान नभएको बताइरहेको छ। रहर पुर्याउनकै लागि उद्घाटन गर्ने सोंच हो भने खानेपानी मन्त्री महिन्द्र राय यादवले उद्घाटन गर्दा हुने थियो, प्रधानमन्त्री त्यहाँ पुग्नुपर्ने आवश्यकता थिएन।

गत पुस १० मा उनको कार्यकालको एक वर्ष पुरा भएको अवसरमा प्रधानमन्त्रीले भनेका थिए, अब अत्यावश्यक बाहेक कुनैपनि कार्यक्रम तथा उद्घाटन समारोहमा सहभागी हुने छैन।

मेलम्चीको पानी काठमाडौँ आएपछि यसमा आफ्नो सफलता दावी गर्न हरेक मन्त्रीदेखि प्रधानमन्त्रीसम्म लागि पर्ने गरेका छन्। मेलम्ची खानेपानीको मुहानमा हरेक वर्ष बर्खामा बाढीले क्षति पुर्याउने समस्या यथावत् रहेको थाहा हुँदाहुँदै प्रधानमन्त्रीले जनताको आँखामा छारो हाल्दै वर्षैभरी मेलम्चीको पानी आउने ग्यारेण्टी गर्न निर्देशन दिएका छन्।

२०७८ सालमा काठमाडौँ आउँदा २२ बर्षमा ३५ अर्ब बढि खर्च भएको थियो। निर्माण सम्पन्न भएपछिको २ वर्षमा मात्र ३ अर्ब बढि खर्च भइसकेको छ। तर मेलम्ची खानेपानीको अझैपनि दिर्घकालीन समाधानका लागि काम भएको छैन।

२०७८ असारको बाढीले क्षति पु¥याएपछि एसियाली विकाश बैंक एडिबीले यसको मुहान नै ५ सय मिटर माथि सार्नुपर्ने निश्कर्ष निकालेको थियो। त्यसका लागि मात्र अतिरिक्त ५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। यसमा थप अध्ययन गरी समस्या समाधान गर्नेतर्फ सरकारको ध्यान छैन।

२०७७ चैत्रमा मेलम्चीको पानी पहिलो पटक काठमाडौँ आएपछि ६ पटक खानेपानी मन्त्री फेरिइसकेका छन्। त्यसयता मणि थापा, अनिल झा, उमाकान्त चौधरी, राजेन्द्र राई, अब्दुल खान, महिन्द्र राय यादवले खानेपानी मन्त्रालयको नेतृत्व सम्हालिसकेका छन्।

तर खानेपानीको दीर्घकालिन समाधानतर्फ भने ध्यान पुगेको छैन। दीर्घकालीन समाधानमा ध्यान नदिने अनि २ महिनाका लागि पानी आउँदा उद्घाटन गर्न तँछाडमछाड गर्ने शैली राज्य सञ्चालकको छ।

बढ्दो सहरीकरण र अनियन्त्रीत जनसंख्या वृद्दिले काठमाडौँलाई काकाकुल बनाउने निश्चित देखेर २०४७ सालमा तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौँ ल्याउने घोषणा गरेका थिए। काठमाडौँमा पानी त आयो तर किस्ता किस्तामा।

हिउँदमा केहि महिना काठमाडौँबासीले पानी खान पाउँछन्, बर्खा लागेपछि मेलम्ची खोलामा बाढि आउँछ, ड्याम पुरिन्छ, काठमाडौँमा पानी आउन बन्द हुन्छ। मेलम्चीलाई राजनीतिक ब्याज खाने भाँडो बनाउनुभन्दा समस्या समाधानका लागि गृहकार्य गर्नपर्नेतर्फ सरकारको ध्यान केन्द्रीत गर्न जरुरी छ।