भिजिट भिसामा जान ६ वटा कागजात आवश्यक पर्ने

सांकेतिक तस्वीर

काठमाडौं। सरकारले भिजिट भिसामा जान चाहने नेपालीलाई १३ बुँदे यात्रा परामर्श जारी गर्दै विदेश जानका लागि आवश्यक पर्ने ६ वटा कागजातको विवरण सार्वजनिक गरेको छ।

बुधबारदेखि लागू हुनेगरी भिजिट तथा पर्यटक भिसामा विदेश जान आवश्यक पर्ने कागजातमा कम्तीमा ६ महिनाको वैध अवधि भएको राहदानी हुनुपर्ने प्रावधानलाई यथावत राखिएको छ।

भ्रमण गर्ने देशको अनआराइभल भिजा हुने भए भिजा आवश्यक नपर्ने उल्लेख गरिएको छ। यसैगरी दुईतर्फी हवाई टिकट हुनुपर्ने कुरालाई दोहोर्‍याइएको छ।

भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र उल्लेख हुनुपर्ने व्यवस्था गरिएको छ।

भ्रमणको सम्पूर्ण खर्च व्यहोर्ने सरकारी तथा गैरसकारी संस्थाको निमन्त्रणा पत्र वा सो नभएमा कम्तीमा ५ सय अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण पेस गर्नुपर्ने उल्लेख गरिएको छ।

यसका लागि डेबिट वा क्रेडिट डलर कार्ड भए पनि हुने पनि उल्लेख गरिएको छ। संयुक्त अरब इमिरेटस्, बहराइन, कुवेत, कतार, ओमन र साउदी अरेबियामा भिजिट भिसामा भ्रमण गर्दा स्वघोषणा फारम भर्नुपर्ने अध्यागमन विभागले उल्लेख गरेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ।