आहा रारा गोल्डकप: आज आर्मी क्लब र राइजिङ स्टार भिड्दै

पोखरा । पोखरामा जारी २३औं आहा रारा गोल्डकपमा आज विभागीय टिम त्रिभुवन आर्र्मी क्लब र राइजिङ स्टार फुटबल क्लब भिड्दैछन्। खेल दिउँसो २ बजेदेखि पोखरा रंगशालामा हुनेछ।

आहारारा पोखरा गोल्डकपमा यो विभागीय टिम आर्मीको १५औं सहभागिता हो भने राइजिङ स्टारको पहिलो । आजको खेल जित्ने टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछ र माघ १४ गते डिफेन्डिङ च्याम्पियन संकटा क्लबको सामना गर्नेछ ।

पटकपटक उपाधि नजिक पुगेर पनि खाली हातै घर फर्किनु परेकाले आहा रारा इतिहासमा आर्मी अभागी टिम मानिन्छ। पहिलोपटक ०६० सालमा भाग लिएको आर्मी सेमिफाइनल सम्म पुगेको थियो । त्यसयता चार पटक फाइनल पुगिसकेको छ । तर, उपाधि जित्न सकेको छैन ।

आर्मी पहिलोपटक २०६५ मा फाइनल पुगेको थियो । त्यतिबेला नेपाल पुलिससँग ५–० ले पराजित भयो। ०६६ मा पनि फाइनल पुगेको आर्मीलाई पुलिसले नै १–० ले पराजित गरेको थियो । ०७२ सालको फाइनलमा भने आर्मीलाई मनाङ मस्र्याङ्दीले १–० ले हरायो। ०७५ मा भने आर्मीले ट्राइब्रेकरमा थ्रीस्टारसँग ५–२ ले हार व्यर्होयो।

अघिल्लो संस्करणमा आर्मी क्वार्टरफाइनलबाटै घर फर्किएको थियो। क्वार्टरफाइनलमा संकटा क्लबले आर्मीलाई ३–१ ले पराजित गरेको थियो। आर्मीलाई हराएको संकटाले २२औं संस्करणको आहा रारा उपाधिसमेत चुम्न सफल रह्यो।

२३औं आहा राराको पहिलो खेल आयोजक सहारा र थ्रीस्टार क्लबबीच भएको थियो। जसमा आयोजक सहारालाई २९१ ले हराउँदै थ्रीस्टार क्वार्टरफाइनल पुगेको छ। थ्रीस्टारले अब माघ १३ गते आमन्त्रित भुटानी टिम पारो एफसीसँग खेल्नेछ।