प्रधानमन्त्री असक्षम, विपक्षी दल मौनः अब त सरकारको विरोध गर्नेकि आम सर्वसाधारण

फाइल तस्बिर

हामीले देखिरहेका हुन्छौं, सार्वजनिक सवारी साधन आउनेबित्तिकै सर्वसाधारणहरुबीच भागदौड मच्चिन्छ। गाडी गुडिरहेको हुन्छ, तैपनि सर्वसाधारण ज्यानको बाजी राखेरै चढ्छन् । चाहे त्यो गाडीमा सिट होस् या नहोस्। ढोकैसम्म झुण्डिएर यात्रा गर्न पनि सर्वसाधारण तयार छन्।

किन कि उनीहरुलाई आफ्नो गन्तव्यमा पुग्न हतारो भइरहेको हुन्छ। उसैपनि गाडी पर्याप्त छैन्, भागेन्, कुदेन् वा ज्यानको जोखिम राखेन् भने गाडी छुटिहाल्छ । अर्को गाडी कुर्दा त थप समय खेर जान्छ। समय निकै महत्वपूर्ण छ । समय घुमिफिरी आउँदैन् । समय समात्न सक्ने व्यक्ति मात्र आफ्नो लक्ष्यमा पुग्छ ।

तर, यो कुरा हाम्रो देशको राजनीतिज्ञहरु बुझ्दैनन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पद सम्हालेको १४ महिना बितिसकेको छ । यो अवधिमा उनले दाउरा सुरुवाल लगाउने र साइरनवाला गाडीमा हुँइकिनेबाहेक केही काम नै गरेनन् । उनलाई समय कति महत्व छ ? भन्ने कुरा थाहै भएन् ।

यो अवधिमा प्रचण्डले देश र जनताको हितमा एउटा पनि निर्णय गरेका छैनन् । देश बर्बाद भइसक्यो, जनता कंगाल भइसके, अझैपनि उनी पदमा बसिरहेका छन् । उनलाई लाज लाग्नुपर्ने हो ? प्रधानमन्त्री प्रचण्डको असक्षमता पुष्टि भइसकेको छ तर विपक्षी दल भने मौन छ ।

प्रधानमन्त्रीको राजीनामा माग्ने आँट विपक्षीसँग छैन् । सरकारबाहिर बस्ने दलहरु यति कमजोर भएकि यिनलाई विपक्षी भन्न पनि लाज लाग्ने अवस्था बनेको छ । विपक्षी दल प्रधानमन्त्रीको सामुन्ने लम्पसार परेको छ । जसले गर्दा देश बर्बाद र जनता कंगाल भइसक्दा समेत उनीहरु चुइक्क बोलेका छैनन् ।

विपक्षी दरो भएको भए प्रचण्डलाई एक सय दिन टिक्न पनि गाह्रो थियो । तर, विपक्षी कमजोर भइदिँदा उनी १४ महिना टिके । अहिले देखेका मान्छे एकैछिनपछि देख्दैन् । एकछिनमै ऊ दुनियाँमा नरहन नि सक्छ । एक मीनेटमा कहाँको मान्छे कहाँ पुगिसक्छ । तर, विपक्षी दलका नेताहरु भने चार वर्षपछिको सपना बोकेर हिँडेका छन् ।

नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले अर्को चुनावको प्रक्षेपण अहिले नै लगाउन थालेका छन् । ‘मिसन २०८४’ को अभियानमा छन्, यी दलहरु । ८४ सम्म यिनीहरु देशमा रहलान्, नरहलान् थाहा छैन्। नेपाल नै रहने, नरहने भन्न सकिन्न । अहिलेकै अवस्था रह्यो भने जनताले सबलाई लखेट्न बेर छैन्।

अनि मिसन ८४ को एजेण्डा बोकेर के फाइदा ? अहिले देशमा के भइरहेको छ ? जनता कुन अवस्थाबाट ग्रुजिएका छन् ? यसमा ध्यान दिऔं। चुनावअघि राष्ट्र र जनताको बारे ठूल्ठूला भाषण गर्नेहरु चुनाव जितेपछि आफूले गरेका बाचा बिर्सिन्छन्। फेरि यस्तै मिसनको एजेण्डा बोकेर हिँड्छन्।

अनि देशचाँहि कसले बनाउँछ ? काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र शाह ‘बालेन’ आएको २० महिना भयो। उनले यो अवधिमा धेरै काम गरे। नेपाली माझ मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा उनको चर्चा छ। जनता देशको प्रधानमन्त्री बालेनलाई बनाउनुपर्ने भन्न थालिसकेका छन्।

एउटा मेयरले त त्यत्रो काम गरे भने देशका प्रधानमन्त्री, मन्त्री, सांसद्हरु हात बाँधेर बसेका छन् । निर्वाचन भएको एक वर्ष कटिसक्यो तर एउटा मात्र विधेयक सदनबाट पारित भएको छ । मासिक अर्बौं रुपैयाँ सांसदहरुको तलबभत्ता र सेवासुविधामा खर्च भएको छ । तर, उपलब्धि के ?

सबै मिलीजुली राज्यको ढुकुटी लुट्ने खेलमा छन्। सत्तापक्ष नि खाने, विपक्षी नि खाने। देशको ढुकुटीले धान्न छोडिसकेको छ। जनताचाँहि खाईनखाई कर तिर्ने अनि यिनीहरु त्यसमा मोजमस्ती गर्ने। त्यतिले नपुगेर विदेशीबाट समेत ऋण ल्याउने। २०७९ मंसिर ४ गते भएको चुनावमा माओवादीले जम्मा ३२ सीट जित्यो।

त्योबाट नै माओवादीबाट जनताको विश्वास उठिसकेको देखिएको थियो । जनतालाई के थाहा छ भने प्रचण्डसँग काम गर्ने क्षमता छैन् । उनलाई टाउको हल्लाउन र आश्वासन दिन मात्र आउँछ भन्ने कुरा जनतालाई राम्रो जानकारी थियो । जनताले नपत्याएको पार्टीका अध्यक्ष अहिले देशको प्रधानमन्त्री छन्।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वार्थका निम्ति प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गरे । पहिलोचोटि उनले २६८ जना सांसदको विश्वासको मत पाए । जनताले नपत्याएर ३२ सीटमा सीमित बनाएकालाई दलहरुले पत्याए । जनताले पाखा लगाउँछन्, राजनीतिक दलहरुले आफ्नो फाइदाका लागि काखा च्याप्छन्।

प्रचण्डलाई विश्वासको मत दिने सांसदहरु अब जनतासामु गएर के भन्छन् ? कुन मुख लिएर जनताकहाँ जान्छन् ? प्रचण्डले हरेक हप्ता मन्त्रिपरिषद्बाट विदेशी ऋण स्वीकृत गर्छन्। विदेशी ऋण झण्डै २७ खर्ब रुपैयाँ पुग्न थालिसकेको छ। देशको आर्थिक स्थिति नाजुक अवस्थामा पुगेको छ।

राज्यको ढुकुटीमा राजश्व उठ्न छोडिसकेको छ। आर्थिक मन्दीका कारण व्यापारीहरु मर्काम परेका छन्। जनतासँग पैसा छैन्। बिहानबेलुका गर्जो टार्न सर्वसाधारणलाई समस्या परेको छ। बेरोजगारी ह्वात्तै बढेको छ । विदेश पलायन हुने नेपालीको संख्या दिनप्रतिदिन बढिरहेको छ।

देश छोड्नेको लर्को विमानस्थलमा देख्न सकिन्छ । व्यापार–व्यवसाय डुबेर व्यापारीहरुले आत्महत्याको बाटो रोजिरहेका छन्। सहकारीले पैसा खाइदिएर बचतकर्तामा परेको पीडाको बयान गरिसाध्य छैन्। सरकारी अड्डामा भ्रष्टाचार व्याप्त छ । सरकारी कर्मचारीहरुको ‘कामचोर’ प्रवृत्ति रोकिन सकेको छैन्।

आएर हाजिर गर्ने अनि घरतिर कुलेलम ठोक्ने क्रम जारी नै छ। हरेक क्षेत्रमा सिण्डिकेट छ । यातायातमा भएको सिण्डिकेटको जरो कसैले उखालेर फाल्न सकेको छैन्। लामो समयदेखि ढुवानी, कालो र हरियो प्लेटको ट्याक्सी, फो स्टक टेम्पोको दर्ता खोलिएको छैन् । घरजग्गा कारोबार खस्किँदो छ।

शेयर र गाडीको मूल्य निरन्तर ओरालो लागिरहेको छ। सटर, कोठा, फ्ल्याट खाली हुने क्रम दिनप्रतिदिन बढिरहेको छ। यो सरकारी असफल भइसक्यो भन्ने कुरा भारी बोकेर जीविकोपार्जन गर्नेलाई थाहा छ। विडम्बना, विपक्षी दलका नेतालाई थाहा छैन्। विपक्षीमा बसेका कुनै दलसँग राजनीति गर्ने क्षमता छैन्।

तिनलाई पनि जनता झुक्काउनेबारे मात्र थाहा छ । कुनै आठ कक्षा पढेका छन्। कुनै टेलिभिजनमा चिच्याउँथे त कुनै राजाको झोला बोकेर आएका छन् । सर्वसाधारणले यो सरकार हटाउनुपर्ने माग राख्न थालिसकेका छन्। देश जटिल अवस्थाबाट गुज्रिरहेको छ तर नागरिक समाज, विद्यार्थी संगठन, बुद्धिजीवी, अभियन्ताहरुले चुइक्क आवाज निकालेका छैनन्।

सरकारले काम गर्न सकिरहेको छैन् तैपनि सबै खुट्टा कमाएर बसेका छन्। कोहीसँग सरकारको विरोधमा बोल्ने आँट छैन्। विपक्षीले जनताले दिएको भोटको समेत कदर गर्न सकेनन्। जनता निकै अप्ठेरो अवस्थामा छन् तर उनीहरु वास्ता गर्दैनन्। विपक्षी दलहरु आफ्नो व्यक्तिगत स्वार्थमै केन्द्रित छन्।

जसको फाइदा प्रचण्डलाई भएको छ। विपक्षीले बोल्दैनन् अब जनताले नै बोल्नुपर्छ। यस्तै पारा भयो भने देश विकास होइन्, विनासचाँहि हुन्छ। जनता तातिन अवेला भएको छ। तीन करोड नेपाली जनताको देश हो यो। तर, सीमित व्यक्तिहरुले यसलाई आफ्नोजस्तो गरिरहेका छन्।

पार्टीको कार्यकर्ता भएर होइन्, नेपाली भएर सोच्न जरुरी भइसकेको छ। जनतालाई पाखा लगाएर आफ्नो मनमर्जी चलाइराखेका छन्, राजनीतिक दलहरु। अझैपनि निरीह भएर बस्ने हो भने देश तहसनहस बन्छ।