तत्काल मन्त्रिपरिषद् हेरफेर हुँदैन: मन्त्री गुरुङ

फाइल तस्वीर

बुटवल। नेपाली कांग्रेसका नेता तथा कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले तत्काल मन्त्रिपरिषद् विस्तार नहुने बताएका छन्। मन्त्रिपरिषद् विस्तार नहुने तर कामको प्रगतिलाई मन्त्रीहरूले बढाउनुपर्ने उनको भनाइ छ।

बुधबार बहान बुटवलमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गुरुङले तत्काल मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना नरहेको बताएका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्री फेर्ने विषयमा दलका नेताहरूसँग छलफल गरे पनि अहिले नफेर्ने निचोडमा पुगेकाले उनले बताए।

प्रधानमन्त्री प्रचण्डले सरकारको एकवर्ष पुगेको अवसरमा मन्त्री फेर्ने बताएपछि सत्तारूढ दलका नेताबिच छलफल गर्दा अहिलेलाई यही ठिक भएको बताएको मन्त्री गुरुङले बताए।

मन्त्री गुरुङले राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशमा भएको क्रस भोटले गठबन्धनभित्र तरङ्ग ल्याएपनि यसले खासै असर नपार्ने बताए । उनले यस विषयमा गठबन्धन दलभित्र गम्भीर समीक्षा सुरु भएको बताए।

साथै, मन्त्री गुरुङले सकभर सहमति नभए प्रक्रियामा गएर भएपनि टीआरसी विधेयक अबको अधिवेशनबाटै टुङ्गो लाग्ने बताए । हिउँदे अधिवेशनमा सरकारले धेरैभन्दा धेरै विधेयकहरू लैजाने तयारी गरेको उनको भनाइ छ।